Logo
Logo

भारतले टस जित्यो, नेपालले पहिला ब्याटिङ गर्ने


1.2k
Shares

काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत नेपालले भारतविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् ।

पहिलो पटक एसिया कपमा सहभागी भएको नेपालले आफ्नो दोस्रो खेलमा बलियो प्रतिद्वन्द्वी भारतको सामना गर्न लागेको हो । श्रीलंकाको क्यान्डीस्थित पल्लेकेले स्टेडियममा नेपाली समयअनुसार दिउँसो सवा ३ बजेदेखि खेल सुरु हुनेछ ।

आईसीसीको पछिल्लो एकदिवसीय वरीयतामा भारत तेस्रो स्थानमा छ भने नेपाल १५औँ वरीयतामा छ । यसका अतिरिक्त भारतले हालसम्म सर्वाधिक सात पटक एसिया कपको उपाधि पनि चुमिसकेको छ । भारत दुई पटकको एकदिवसीय विश्वकप च्याम्पियन पनि हो ।

१६औं एसिया कपमा यसअघि नेपाली टोली आफ्नो पहिलो खेलमा आयोजक पाकिस्तानसँग दुई सय ३८ रनले पराजित भएको थियो । पाकिस्तान पछिल्लो आईसीसी एकदिवसीय वरीयताको पहिलो स्थानमा रहेको छ ।

नेपाल र भारतबीचको खेलसँगै समूह ‘ए’ को सबै खेल सकिने छ । हाल समूह ‘ए’ तालिकामा दुई खेल खेलेको पाकिस्तान चार अंकसहित पहिलो स्थानमा छ । पाकिस्तान र भारतबीच शनिबार खेलिएको खेल भने वर्षाका कारण रद्द भएको थियो ।

तालिकामा एक अंकसहित भारत दोस्रो स्थानमा आसिन छ । तेस्रो स्थानमा रहेको नेपालले भने हालसम्म खाता खोल्न सकेको छैन । त्यसैले सोमबार हुने नेपाल र भारतबीचको खेल दुबै टोलीका लागि निकै महत्त्वपूर्ण रहेको छ ।

पाकिस्तान यसअघि नै प्रतियोगिताको ‘सुपर फोर’ चरणमा पुगिसकेको छ । अब समूह ‘ए’ बाट नेपाल र भारतमध्ये एक टोलीमात्र ‘सुपर फोर’ चरणमा पुग्नेछ । प्रत्येक समूहबाट माथिल्लो स्थानमा रहने दुई/दुई टोली प्रतियोगिताको ‘सुपर फोर’ चरणमा पुग्ने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्