Logo
Logo

नबिल बैंकमा ४० करोडको घोटाला



काठमाडौं । मुलुककै एकमात्र अर्बपति विनोद चौधरीको परिवारको मुख्य लगानी रहेको नबिल बैंक पछिल्लो समय वित्तीय अपराध गर्न माहिर देखिएको छ । नियामक निकायले ठूलालाई चैन, सानालाई ऐनको प्रवृत्ति देखाउँदा नबिलमा वित्तीय अपराध फस्टाएको हो ।

हालैमात्र नबिल बैंकको पोखरा शाखामा गम्भीर प्रकृतिको वित्तीय अपराध भएको खुलासा भएको छ । बैंककै उच्च तहका कर्मचारीबाट विगत ६ वर्षदेखि गम्भीर वित्तीय अपराध भइरहेको तथ्य खुलेको हो । कुरा, नबिल बैंकको पोखरास्थित न्युरोड शाखाको हो । त्यहाँको उच्च तहकै कर्मचारीले विगत ६ वर्षअघि देखि ग्राहकबाट लिएको पैसा आफैंले प्रयोग गर्ने र ग्राहकलाई नक्कली भौचर र कागजातहरू दिने गरेको भेटिएको हो । यस घटनामा संलग्न कर्मचारीले चेकसमेत व्यक्तिगत रुपमा प्रयोग गर्दै आएको पाइएको हो ।

ती कर्मचारीले करिब ४० करोडभन्दा माथिको रकम हिनामिना गरेको अनुमान गरिएको छ । उनले ग्राहकबाट उठाएको रकम घरजग्गा लगायतमा लगानी गरेको पाइएको समेत बैंक स्रोतले बताएको छ ।

ती कर्मचारीले बैंकको उक्त शाखामा पैसा तथा चेक जम्मा गर्न आउने ग्राहकले हेर्दा सक्कली जस्तै देखिने भौचर थमाउने गरेको र पैसा ग्राहकको खातामा नभई आफ्नै खातामा राख्ने गरेको पाइएको हो ।

ग्राहकले आफ्नो खातामा पैसा नभएको गुनासो गर्न थालेपछि घटना सामसुम पार्न बैंकका केन्द्रीय कार्यालयका उच्च कर्मचारीहरू समेत लागिपरेको स्रोतको दावी छ । घटना बैंकको उच्च व्यवस्थापनसम्म पुगिसकेको भएपनि ती कर्मचारीलाई कानूनी कारबाही गर्ने काम भएको छैन । घटना प्रहरीकोमा पुगेमा बदनाम हुने भन्दै बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानासमेतले सामसुम पार्ने प्रयास गरिरहेको स्रोतको दावी छ ।

बैंकका सीईओ ढुंगानाले पोखरामा उक्त घटना घटेको स्वीकार गर्दै ग्राहकको पैसा सुरक्षित रहेको दावी गरेका छन् । उनले ग्राहकको नभई आफन्त पर्ने ग्राहकको पैसा ती कर्मचारीले प्रयोग गरेको पाइएको जानकारी दिए । उनले ८५ प्रतिशत बढी रकम असुली भइसकेको र अब ४ करोड असुल्न बाँकी रहेको बताए ।

प्रहरीमा उजुरी नदिएको विषयमा उनले कर्मचारीले गल्ती स्वीकारेकाले प्रहरीमा नगएको दावी गरेका छन् ।

नबिलमा यो पहिलो घटना भने होइन । करिब दुई वर्ष अघि नबिलकै दमक शाखाबाट शाखाका कर्मचारी, मूल्यांकनकर्ता लगायतका व्यक्तिको मिलेमतोमा एउटा गिरोहलाई नै जग्गा तथा कमसल धितो राखेर ऋण दिइएको थियो । जसबाट बैंकलाई करोडौंको नोक्सानी भएको थियो । बैंकले घटना बाहिर आए बदनाम हुने डरले भित्रभित्रै सामसुम पारेको थियो । यसपटक पनि नबिलले घटना भित्रभित्रै सामसुम पार्न खोजेको छ ।

ठूला बैंक भएकै कारण यस बैंकलाई राष्ट्र बैंकले पनि केही ‘एक्सन’ लिन सक्दैन । अझै अर्बपतिको बैंक भएपछि ससाना ग्राहकको न्याय त कहाँ आश गर्नु । न बैंकले केही बोल्छ, न त नियामक वा सरकारले नै !

प्रतिक्रिया दिनुहोस्