Logo
Logo

खरेलको विकल्प खोजी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २९ पुस । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेललाई बिदा दिने मनस्थितिमा पर्यटनमन्त्री योगेश भट्टराई पुगेका छन् । खरेलसँग सञ्चालक समितिका सदस्यहरुसमेत रुष्ट भएका कारण मन्त्री भट्टराई उनलाई बिदा दिने निष्कर्षमा पुगेका हुन् ।

स्रोतका अनुसार निगमको अध्यक्षमा पर्यटन सचिव र महाप्रबन्धकमा निगमभित्रकै योग्य, क्षमतावान कर्मचारीलाई नियुक्त गर्ने सोच मन्त्री भट्टराईले राखेका छन् । तर, यस विषयमा मन्त्री भट्टराईले प्रधनमन्त्रीसँग सल्लाह गर्ने समय पाएका छैनन् ।

नेपाल भ्रमण वर्षलाई सफल पार्न निगमको भूमिका महत्वपूर्ण हुने भए पनि निगमका अन्तर्राष्ट्रिय उडान प्रायः खाली उड्ने गरेका छन् । जापानबाट प्रशस्त पर्यटक भित्र्याउन सकिए पनि ओशाकामा निगमले बजार विस्तार गर्न नसक्दा मासिक एक करोडभन्दा बढी घाटा व्यहोरिरहेको छ । निगममा कुशल व्यवस्थापक आउने हो भने निगमको अन्तर्राष्ट्रिय गन्तव्यमा नेपाल भ्रमण वर्षका लागि व्यापार विस्तार गर्न सकिने आशा मन्त्री भट्टराईले गरेका छन् । तर, प्रधानमन्त्री ओलीको ठाडो आदेशबाट नियुक्त भएका खरेललाई हटाउन त्यति सजिलो भने छैन ।

खरेलले अहिले पनि व्यापक भ्रष्टाचार गरिरहेका छन् । नियममै ३० वर्षे सेवा अवधि बिताएका खरेललाई कहाँ–कहाँबाट कमिशन आउँछ भन्ने थाहा छ । त्यसमाथि उनले दुई पटक निगमको व्यवस्थापन सम्हालिसकेका छन् । न्यारोबडी खरिदमा उनले गरेको भ्रष्टाचार अख्तियारले छानबिन गर्दैछ भने एपियु भाडामा लिएको विषयमा पनि अख्तियारले छानबिन गरिरहेको छ ।

स्रोतका अनुसार निगमको एपियु सात महिनासम्म थन्क्याएर मासिक २७ हजार डलरमा भाडामा चलाइएको छ भने ४ लाख ३८ हजार अमेरिकन डलरमा निगमको एपियु मर्मतको जिम्मा विदेशी कम्पनीलाई बिनाप्रतिस्पर्धा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्