
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले ३६ अर्ब ६६ करोड रुपैयाँको बजेट ल्याएको छ। बजेट ल्याउन केही ढिला भए पनि प्राधिकरण सञ्चालक समितिको मंगलबार बसेको बैठकले आर्थिक वर्ष २०८०/८१ बजेट पास गरेको हो ।
यद्यपि, साउन १ गतेदेखिकै कार्यक्रमका लागि बजेट कार्यान्वयनमा जाने भएको छ । प्राधिकरणले गत आर्थिक वर्ष २०७९/८० को तुलनामा यो वर्ष बजेट ५ अर्ब १९ करोड रुपैयाँ कम ल्याएको छ ।
प्राधिकरणले चालु आर्थिक वर्षका लागि १५ अर्ब ८८ करोड रुपैयाँ आफ्नै आम्दानी र ६ अर्ब ६४ करोड रुपैयाँ ऋण वा सेयरबाट स्रोत व्यवस्थापन गर्ने उल्लेख गरेको छ। नेपाल सरकारबाट ८६ करोड, असार समम भुक्तानी भएको मुल्यअभिवृद्धि कर नेपाल सरकारबाट फिर्ता पाउनु पर्ने २ अर्ब ३४ करोड गरी २५ अर्ब ७३ करोड रुपैयाँ छ।
२०८० साउन सुरुको पेश्की मौज्दात ४ अर्ब ८५ करोड र बैंक मौज्दात ६ अर्ब ७ करोडगरी ३६ अर्ब ६६ करोड रुपैयाँ स्रोत व्यवस्थापन हुने अनुमान गरिएको छ। पुँजीगत खर्च बाहेक कर्मचारीको तलब बापत २ अर्ब ११ करोड, कर्मचारी अवकास भुक्तानी ५३ करोड, अन्य कार्या सञ्चालन खर्च ४ अर्ब ३४ कारोड छुट्टटाएको छ।
नेपाल सरकारको ऋण साँवा २ अर्ब ९३ करोड, ब्याज १ अर्ब ७१ करोड, कर्मचारी बोनस ५ करोड, वायुयान सञ्चालन कोषको नन्अपरेटिभ खाता ८२ करोड, स्थिर सम्पत्ति प्रतिस्थापन कोष १ अर्ब ६३ करोड, आयकर व्यवस्था र पुनरावेदका लागि २ अर्ब १३ करोड रुपैयाँ खर्च हुने प्राधिकरणको अनुमान छ।














