काठमाडौं । कृषि तथा पशुपक्षीमन्त्री डा. बेदुराम भुसालले लम्पी स्किन रोगको सङ्क्रमणबाट अहिलेसम्म १५ लाख १९ हजार सात सय ७९ पशु सङ्क्रमित भएको जानकारी दिएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री भुसालले सरकारले उपचारमा सक्दो प्रयास गरिरहेको दाबी गरे ।
हालसम्म उपचारपश्चात् १३ लाख ८३ हजार पाँच सय ९५ पशु निको भएको र अहिले बिरामी अवस्थामा ७३ हजार ६ सय ३६ पशु रहेको मन्त्री भुसालले बताए ।
रोगको सङ्क्रमणबाट हालसम्म ५२ हजार पाँच सय ४८ पशुको मृत्यु भएको उनले उल्लेख गरे । मन्त्री भुसालले कृषि क्षेत्रको विकासका लागि यानिन्त्रकिकरण गर्ने सरकारको नीति भएको बताए । यो नीति प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाअन्तर्गत ७७ वटै जिल्लामा सञ्चालित भएको उनले बताए ।
सांसद दीलेन्द्रप्रसाद बडूले गरेको प्रश्नको जवाफ दिँदै मन्त्री भुसालले स्वदेशमै रासायनिक मल उत्पादन गर्ने सवालमा अध्ययन भइरहेको बताए ।














