
सुर्खेत । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको राजनीतिमा गर्वमा साथ शिर ठाडो पारेर आँखामा आँखा जुधाएर भ्रष्टाचारविरुद्ध उभिन सक्ने एक मात्र पार्टी राप्रपा भएको दाबी गरेका छन् ।
आज सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले आफुले राजनितीमा लागेदेखी नै भ्रष्टाचार नगर्ने बाचा गरेको बताए । उनले भने, ‘भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु सरह हो भनेर हामीले भनाई नै स्थापित गरिसकेका छौँ ।’
लिङ्देनले प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचार विरुद्ध चालेको कदमप्रति राप्रपाको समर्थन रहेको बताए । यद्यपि सरकारले आदेश दिने, बाहिर देखाउनका लागि मात्र भ्रष्टाचारविरुद्धको काम गर्नु नहुने उनको भनाइ छ ।
‘सरकारलाई स्याबासी नै दिनुपर्ने अवस्था आएको छैन,’ उनले भने,‘ बरु सरकारले जरैदेखि उखेल्छ भने सरकारलाई राप्रपाले समर्थन मात्र होइन सरकारलाई अफ्ठेरो पर्दा समर्थन र सत्ता टिकाउन पनि सहयोग गर्छ।’
साथै कोशी प्रदेशको सरकार निर्माणको विषयलाई लिएर राप्रपाले बार्गेनिङ गरिरहेको विषयमा सत्यता नरहेको उनले स्पष्ट पारे । एक दुई थान मन्त्रीका लागि राप्रपाले बार्गेनिङ नगर्ने उनको भनाइ थियो । पार्टीको प्रशिक्षण कार्यक्रममा लागि लिंदेनसहित नेतृ कुन्ती शाही, ध्रुव प्रधान लगायतका नेताहरू सुर्खेत पुगेकका हुन् ।














