Logo
Logo

आज माघी पर्व : देवघाटमा तिर्थालुको घुइँचो


- दृष्टि न्युज/संवाददाता


चितवन, १ माघ । माघी अर्थात माघे संक्रान्तिको अवसरमा आज देवघाटमा मेला लागेको छ । पवित्र तीर्थस्थल देवघाट धाममा मेला भर्न आउने तिर्थालु भक्तजनको घुइँचो लागेको छ ।
मंगलबार बिहानैदेखि सुरु भएको मेलामा बुधबार भीड देखिएको छ । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार ठूलो संख्यामा भक्तजन देवघाटमा रातभर जागराम बसेका थिए । बिहान स्नान गरेर फर्कने र स्नान गर्न आउनेको भिड लागेको हो ।
मेलामा देशभर र भारतीय विभिन्न क्षेत्रबाट भक्तजन आउनेक्रम जारी रहेको छ । मेलालाई व्यवस्थित गरिएकाले तिर्थालु भक्तजनले सहज रुपमा स्नान र पूजापाठ गर्न पाएको अध्यक्ष पौडेलले बताए । देवघाट आउने सवारीसाधनलाई ठिमुरा, रामनगर र दासढुंगाबाट आउने व्यवस्था मिलाइएको छ भने फर्कदा ती सवारीले आँपटारीको बाटो प्रयोग गरेका छन् ।
देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेका अनुसार आपतकालीन उद्धारका लागि सशस्त्र प्रहरी तयारी अवस्थामा रहेको छन् । यस्तै डुंगासहितको उद्धारका लागि नेपाली सेना पनि जुटेको छ ।
ज्योतिष शास्त्रअनुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर संक्रान्ति’ भनिएको हो । सो दिनदेखि सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धतर्फ प्रवेश गर्ने भएकाले दिन लामा र रात छोटा हुँदै जाने विश्वास गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्