
रुपन्देही । पछिल्लो साढे तीन महिनामा मात्रै नक्कली प्रज्ञापनपत्र प्रयोग गरेका र स्वघोषणा विपरीतका सामान भेटिएपछि भैरहवा भन्सार कार्यालयले ७ वटा ट्रक सामानसहित नियन्त्रणमा लिएको छ । तर, अधिकांश घटनामा एउटै गिरोहको संलग्नता देखिएको छ ।
भन्सारका एक अनुसन्धान अधिकृतका अनुसार चितवनका राजु थापा तस्करको नाइके रहेको खुलेको हो । उनी पछिल्लो समय भन्सार नाकाहरुबाट नक्कली प्रज्ञापनपत्र प्रयोग र कमसल सामान ल्याएको मूल्यांकन गराई कपडा तस्करी गर्ने गरेका हुन् ।
पछिल्ला घटनामा संलग्न पाइएपछि अहिले राजुविरुद्ध वारेन्ट जारी गरी खोजी भइरहेको छ । ‘हामीले ती व्यक्ति (नाम नखुलाई)लाई वारेन्ट जारी गरेर तीव्र खोजी गरिरहेका छौं, प्रहरीलाई पनि सहयोग गर्न आग्रह गरेका छौं’ भैरहवा भन्सार प्रमुख मनिराम पौडेलले भने, ‘अनुसन्धानकै क्रममा रहेकाले नाम सार्वजनिक नगरेका हौं । तर, धेरै घटनामा ती युवाको नाम आएको छ । अनुसन्धानले पनि देखाएको छ ।’ भैरहवा भन्सार प्रमुख पौडेलले नाम गोप्य राखे पनि ती युवा राजु थापा नै हुन् ।
थापाले भैरहवाबाट मात्रै होइन्, वीरगञ्ज, विराटनगर, नेपालगञ्ज, कृष्णनगर, पश्चिम नवलपरासीको महेशपुर र सिराहका भन्सार नाकाबाट ट्रकका ट्रक विना भन्सार सेटिङमा कपडा तस्करी गराउँदै आएका छन् । कयौंपटक उनले भन्सार पास गराएका ट्रक सशस्त्र र नेपाल प्रहरीले पक्राउ गरेका छन् । तर, उनलाई कारबाही हुन सकेको छैन ।
विगतमा भैरहवामा ट्याक्सी चालकको काम गर्दै आएका थापाले भन्सारबाट ट्रकका ट्रक कपडा पास गराउँदै आएका छन् । थापाले विगतदेखि नै ठूलो संजाल बनाएर तस्करीको गिरोहमा संलग्न हुँदै आएको अनुसन्धानबाट खुलेको भन्सार स्रोत बताउँछ ।
‘थापाले नेपालका अधिकांश भन्सारबाट नक्कली प्रज्ञापन पत्र र कमसल वस्तु ल्याएको स्वघोषणा गरी कपडा, जुत्ताचप्पल तस्करी गर्दै आएको पाइएको छ’, ती अनुसन्धान अधिकृतले भने, ‘भैरहवामा पनि उनको धेरै ठाउँमा संलग्नता देखियो ।’
थापाले भारतीय तस्करदेखि प्रहरी र भन्सारसम्म सेटिङ मिलाएका छन् । भारतको नौतनवामा तस्करको गिरोह नै छ । त्यो गिरोहसँग थापाको सिधा कनेक्सन छ । नौतनवामा रहेको गिरोहले ट्रकका ट्रक अवैध सामान नेपालतर्फ पठाउँछ । नेपालतर्फ राजुले सेटिङमा भन्सार पास गराउँछन् ।
नेपालतर्फ भन्सार कार्यालय, प्रहरी–प्रशासन, आन्तरिक राजश्व कार्यालय, राजश्व अनुसन्धान, भन्सार विभाग, राजश्व अनुसन्धान विभागदेखि अर्थ र गृह मन्त्रालयसम्मै आफ्नो संजाल विस्तार गरेर अवैध काम गर्दै आएको दावी भन्सार अधिकृतहरु नै गर्छन् । भन्सारले वारेन्ट जारी गरे पछि थापा अहिले फरार छन् ।
देख्दा सामान्य देखिने थापाले छोटो समयमा यति ठूलो संजाल कसरी खडा गरे भन्नेमा सबै अचम्मित छन् । थापाका बारे रुपन्देहीका प्रहरी प्रमुखहरुले सुइँको समेत पाएका छैनन् । उनले विगतमा जिल्लाका प्रहरी अधिकृतहरुलाई मिलाएर जिल्लाका अन्य नाकाहरुबाट तस्करी गर्थे । तर, अहिले अन्य नाकामा कडाई भए पछि उनले तलदेखि माथिसम्म मिलाएर भन्सारबाटै सिधै सामानसहितको ट्रक पास गराउने गरेका छन् । ३५–४० वर्ष उमेरका थापा प्रायः चितवन, काठमाडौंतिर बस्छन् । उनले माथिबाटै ‘रिमोट’ चलाउँछन्, उनका तल्लो तहका तस्करले सामान भन्सार पास गर्ने गरेका छन् ।
भदौ ७ देखि १२ गतेसम्म ५ दिनको अन्तरालमा भैरहवा भन्सार परिसरबाट ५ वटा मालबाहक ट्रक सामानसहित नियन्त्रणमा आएका थिए । भन्सार प्रवेश गर्दा गरिने स्वघोषणामा भन्दा अर्कै सामान ट्रकमा रहेको सूचना भन्सार प्रमुख मनिराम पौडेल समक्ष पुगेपछि बल्ल भन्सारले ट्रक नियन्त्रणमा लिएको हो ।
भन्सारका अनुसार भदौ ७ गते ना ५ ख ३३५ र युपी ५३ जीटी ०५७८ नम्बरको ट्रक भन्सार परिसरबाटै नियन्त्रणमा लिइएको हो । भन्सार प्रवेश गर्दा यी ट्रकले प्लास्टिकका दाना ल्याएको भनेर स्वघोषणा गरेका थिए । तर, नियन्त्रणमा लिएर चेकजाँच गर्दा दुई करोड बराबर मूल्यको कपडा र काजु भेटिएको छ ।
यस्तै, भदौ १० गते डिएल १ जिसी ४४४६ र युपी ८४ टी ५३४७ नम्बरका ट्रकले औषधिका कच्चा पदार्थ भनेर भित्र्याएका समान जाँचगर्दा कपडा र जुत्ताचप्पल ल्याएको पाइयो । भदौ १२ गते एचआर ३८ एसी ७४९९ नम्बरको ट्रकले मेडिकल पाउडर भनेर भित्र्याएको सामान कपडा भएको पाइयो । यी सबै ट्रकलाई नियन्त्रणमा लिएर अहिले अनुसन्धान भइरहेको छ ।
यतिमात्रै होइन्, गत जेठ ६ मा युपी ५३ एफटी ५४५३ नम्बरको ट्रकले माछा र असार २५ गते युपी ३१ टी ९९४१ नम्बरको ट्रकले नक्कली प्रज्ञापनपत्र बनाएर भन्सार जाँचपास गरी बाहिर निस्कन लागेका बेला भन्सार प्रमुखसमक्ष सूचना पुगेपछि नियन्त्रणमा लिइएको थियो ।
यसले भन्सारमा विगतदेखि नै यस्ता अवैधानिक क्रियाकला हुँदै आएको तथ्यलाई थप बल पुर्याउँदै लगेको छ । धमाधम ट्रकका ट्रक सामान बरामद हुँदासमेत मुख्य तस्कर भने अझै पक्राउ परेका छैनन् ।
भन्सारका अनुसार नक्कली प्रज्ञापनपत्रबाट माछा र प्याज भन्सार पास गराउन खोज्ने १६ जनाविरुद्ध मुद्दा चलिरहेको छ । यसमा दुईजना फरार छन् । अनुसन्धानका क्रममा भन्सारमै रहेको बाणिज्य बैंकका कर्मचारी, भन्सार एजेन्ट र भन्सारको पार्किङ, गाडी भित्र पस्दा र बाहिर निस्कँदा जाँचबुझ गर्ने जिम्मेवारी पाएको अन्नपूर्ण टर्मिनल्स् प्रालिका कर्मचारीको संलग्नता पाइएको थियो ।
संलग्नलाई पक्राउ गरी कानूनी दायरामा ल्याइएको छ । ‘पछिल्ला ट्रकसहितका सामान बरामद घटनामा पनि अन्नपूर्णका कर्मचारीको मिलेमतो आशंका छ, यद्यपि अनुसन्धानकै क्रममा रहेकाले अहिले नै विस्तृत वाहिर नल्याइएको हो’, भन्सारका एक कर्मचारीले भने ।
सबैको मिलेमतोमा भन्सार कटाउन लागिएका ट्रक पनि भन्सार प्रमुखसमक्ष सूचना नपुगेको भए पक्राउ नपर्ने दावी उनले गरे । अहिले भन्सारले पछिल्ला घटनाबारे कल डिटेलदेखि विभिन्न संयन्त्र प्रयोग गरेर सुक्ष्म अनुसन्धान गरिरहेको छ भने मुख्य नाइने राजु थापाविरुद्ध अनुसन्धान गर्न प्रहरीलाई पत्र काटेको छ ।
‘हामीले हाम्रै कर्मचारीदेखि अन्य विभिन्न व्यक्तिकाबारे अनुसन्धान गर्न अदालतबाट अनुमती लिएर कल डिटेल मागिरहेका छौं, अनुसन्धान फराकिलो बनाउँदै लगेका छौं’, भैरहवा भन्सार कार्यालयका अधिकृत लक्ष्मण ढुंगानाले भने, ‘संलग्नता पाइए कसैलाई छाड्दैनौं ।’
दैनिक उपभोग्य वस्तुका नाममा विना भन्सार करोडौंको सामान भित्रिएको भन्दै आलोचना पछि अहिले एक सय रुपैयाँ बढीको सामान ल्याउँदा भन्सार अनिवार्य गरिएको छ । अर्कातर्फ राजश्व चुहावट रोक्न भन्दै भन्सार कार्यालयमा चार वर्ष अघिदेखि आइसुकुडा वर्ड अनलाइन प्रणालीको विकास गरिएको छ । तर मिलेमतोले गर्दा ट्रकका ट्रक भन्सार पास हुने गरेको तथ्य पछिल्ला घटनाले पुष्टि हुन्छ ।
यसमा संलग्न गिरोह र कर्मचारी जोसुकै भए पनि सुक्ष्म अनुसन्धान गरेर काबाहीको दायरामा ल्याइएन भने भोलिका दिन अझै अवैध कामले प्रशय पाउने चिन्ता छ ।














