
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी पाका राजनीतिज्ञ शरदसिंह भण्डारीले सम्हालेका छन् । गत चैत १७ मा प्रचण्ड सरकारमा उनी श्रम मन्त्री नियुक्त भएका हुन् । मन्त्रीको रूपमा भण्डारीको यो १२औँ इनिङ हो ।
२०३८ सालदेखि संसदीय राजनीतिमा सक्रिय भण्डारी २०५६ सालदेखि विभिन्न चरण गरी १२ पटक मन्त्री भइसकेका छन् । तर, १२ पटक मन्त्री भइसक्दा पनि भण्डारीले सम्झन लायक केही काम गरेका छन् । बरु, जति पटक मन्त्री भए उति नै पटक बदनामी मात्र कमाएका छन् ।
राजनीतिक जीवनको उत्तरार्द्धमा १२औँ पटक मन्त्री भएका भण्डारीले यस पटक भने राम्रै काम गर्लान् भन्ने आम जनताले अपेक्षा गरेका थिए । तर, मन्त्री भएको पाँच महिना बितिसक्दा पनि केही काम गर्न सकेका छैनन् । उनी गुमनाम जस्तै छन् ।
लाखौँ श्रमिक भएको देश र यसै देशबाट वर्षेनी हजारौँ युवा रोजगारीका लागि विदेश जाने गर्दछन् । यी तमाम क्षेत्रमा गर्न चाहने हो भने रिजल्ट निकाल्न सकिने अथाह सम्भावना छ । तर, भण्डारी भने आरामले बसेका छन् ।
मन्त्री भण्डारी आरामले बसे झैँ देखिए पनि मन्त्रीको सचिवालय र नजिकका मान्छे भने अनेक चलखेलमा लागेका छन् । त्यसमध्येका एक हुन्, निर्जला राउत । पूर्व सांसद समेत रहेका निर्जलाले श्रम मन्त्रालय हल्लाएका छन् । निर्जलालाई भण्डारीले श्रीमतीका रूपमा चिनाउँदै आएका छन् । तर, भण्डारीका श्रीमती भने अर्कै छन् ।
अवैधानिक नै भए पनि श्रीमान्–श्रीमतीको सम्बन्ध देखाउँदै हिँडेका कारण आजभोलि श्रम मन्त्रालय निर्जलाकै आदेशमा चल्ने गरेको छ । निर्जलाले सामान्य कर्मचारी सरुवादेखि ठूला–ठूला सेटिङमा रजगज गर्दै आएका छन् ।
निर्जला महोत्तरीको बर्दिबासका होटल व्यवसायीसमेत हुन् । भण्डारी मन्त्री भएपछि उनी बर्दिवासतिर कमै मात्र जान्छन् । अधिकांश समय मन्त्रालय अन्तर्गत हुने कामको सेटिङमै बिताउने गरेका छन् ।
श्रम मन्त्रीको आडमा निर्जलाले पछिल्लो समयमा विभिन्न देशमा काउन्सेलर तथा श्रम सहचारी नियुक्त लगायतमा चलखेल गर्दै आएका छन् । निर्जलाको सेटिङमा पछिल्लो समयमा विभिन्न देशमा अवैतनिक राजदूत समेत नियुक्त भएका छन् । यस्ता नियुक्तहरूमा निर्जलाले मोटो रकम असुल्ने गरेको श्रम मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
काउन्सेलर (श्रम) तथा श्रम सहचारी छनौट तथा नियुक्ति सम्बन्धी कार्यविधि तथा मापदण्ड–२०७३ बनेको छ । तर, निर्जलाको दबाबमा कतिपय नियुक्तिहरूमा कार्यविधि तथा मापदण्ड नै मिचिएको कर्मचारीहरूले आरोप लगाएका छन् ।
निर्जलाको दबाबमा विभिन्न देशमा नियुक्ति पाएका व्यक्तिहरू कतिपय भ्रष्ट र कतिपय म्यानपावर व्यवसायी रहेका छन् भने कतिपय चाहिँ मानव तस्कर समेत रहेको स्रोतको दाबी छ ।














