Logo
Logo

योगले निरोगी र तनावमुक्त भइन्छ : मन्त्री ज्ञवाली


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १ माघ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले योगलाई जीवनको अभिन्न अंग बनाउन आवश्यक रहेको बताएका छन् । राष्ट्रिय योग समितिले बुधबार आयोजना गरेको राष्ट्रिय योग दिवस तथा मकर संक्रान्ति मूल समारोह कार्यक्रममा उनले बताएका हुन् ।
आधुनिकतासँगे समाजमा थुप्रै तनाव बढेको भन्दै उनले त्यसलाई कम गर्नका लागि योग, ध्यान र विपश्यना उपयुक्त माध्यम भएको बताए । मन्त्री ज्ञवालीले भने, ‘तनावमुक्त मात्र होइन, निरोगी, शान्त र सौहार्दपूर्णरूपमा जीवनका लागि योगलाई विद्यालय तहको पाठ्यक्रममा समावेश गर्नुपर्छ ।’ आधुनिक चिकित्साले उपचार नभएको बेला प्राकृतिक चिकित्साअन्तर्गत योग गरेर नै हाम्रा पुर्खाले उपचार गरेको उनको भनाइ थियो ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सरकार रोग लाग्न नदिने अभियानमा रहेको बताए । योग, ध्यानजस्ता प्राकृतिक उपचारलाई आफूले प्राथमिकतामा राखेको उनको भनाइ छ ।
त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्राकृतिक चिकित्सा र योग शिक्षालाई आगामी शैक्षिकसत्रदेखि विद्यालय तहमा समेट्ने बताए । उनले योगलाई नै प्राथमिकतामा राखेर सरकारले योगमाया आयुर्वेद विश्वविद्यालय स्थापनाका लागि संसद्को हिउँदे अघिवेशनमा विश्वविद्यालयसम्बन्धी विधेयक दर्ता गर्ने बताए ।
कार्यक्रममा पतञ्जलि योग समितिका अध्यक्ष सुर्दशन सुवेदीले मनलाई स्थिर राख्न र तनावबाट मुक्त हुनका लागि योग गर्नुपर्ने बताउँदै भने, ‘स्वामी आनन्द अरुण गौतम बुद्ध जन्मेको दिनलाई योग दिवस मनाउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्