
काठमाडौं । कोशी प्रदेश सभा सदस्य खगेनसिंह हाङ्गामले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपीलाई ज्यान मार्ने धम्की दिएका छन् ।
ताप्लेजुङबाट निर्वाचित कांग्रेस सांसद हाङ्गामले शुक्रबार फुङलिङमा आयोजित कोणसभामा डीएसपी राजन लिम्बू र उनको परिवारलाई लक्षित गरी ज्यान मार्ने धम्की दिएका हुन् । उनले सार्वजनिक रुपमा डीएसपी र उनको परिवारलाई मार्ने धम्की दिएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
भदौ २१ मा ताप्लेजुङ सदरमुकाम फुङलिङमा लाखे मेलाको अन्तिम दिन सादा पोशाकमा प्रहरी खटिएका थिए । प्रहरीले स्थानीयलाई जिस्क्याएको निहुमा सांसद हाङगाम र डीएसपीबीच आरोप प्रत्यारोप भएको थियो ।
त्यसलगत्तै प्रहरीले सांसदको घर रातभर घेराउ गरेर धम्की र मानसिक तनाव दिएको हाङगामको दाबी छ । त्यसपछि शुक्रबार सांसद हाङ्गामले डीएसपी र उनको परिवारलाई लक्षित गरी ज्यान मार्ने धम्की दिएको हो । यस विषयमा प्रहरीले आपत्ति जनाएको छ ।
भदौ २१ को घटनामा छानबिन गर्न प्रहरीले उपरीक्षक ऋषिराम कँडेलको नेतृत्वमा चार सदस्यीय समिति गठन गरेको छ ।
यस्तो छ सांसदले सार्वजनिक रुपमा दिएको हिंसात्मक अभिव्यक्तिः
तेरो बर्दी खोल्न पनि हामी तयार छौं । अबको कुनै बेला पनि सरकार नेपाली कांग्रेसको नेतृत्वमा भयो भने कहाँ बस्छस ? कहाँ लुक्छस ? के खान्छस ? कस्तो लुगा लाउँछस् ? तेरो तेरो बाउ आमा कहाँ छ ? तेरो छोराछोरी कहाँ छ ? त्यो पनि पत्ता लाएर हामी मार्छौं । पानीमुनी लुकोस् कि पानीमाथि,खबरदार सक्छस् भने यहीँ आइज ।
लड्न आइजो, यहीँ आइजो । म लुगा खोल्न तयार छु तँसँग आइज । यहाँ आइज, खेल्न सक्छस् भने आइज । तेरो पेस्तोल लिएर आउँछस् कि बर्दी खोलेर आउँछस् ? तँलाई म तीस सेकेण्ड राख्दिनँ बाँकी । याद राख् तँलाईं । यो पनि खोल्, तेरो बर्दी खोल् । म जस्तो राजनीतिक भेला गर्न आइज ।
तिमीलाई राजनीतिक बहस गर्छौ कि,जनताको सेवा गर्छौ कि ? देश विकास गर्छौ कि समृद्धिको विकास गर्छौ ? वाकयुद्ध गरौं । होइन भने मुठभेड पनि गरौं तँ डिएसपीसँग । हेरौंला तँ डिएसपीलाई । तेरो रागतमापनि रातै रगत बगेको छ,यहाँ सारा हाम्रो सगतमा पनि रातै रगत बगेको छ । तर राजनीतिकको एउटा उखरमाउलो तातिएको बेला हामी मान्छे मार्न पनि डराउँदैनौं,मृत्युसँग पनि डराउँदैनौं ।














