Logo
Logo

प्रधानमन्त्री ओलीद्वारा चोभारमा सुख्खा बन्दरगाहको शिलान्यास


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर नगरपालिकास्थित चोभारमा आज सुख्खा बन्दरगाहाको शिलान्यास गर्नुभएको छ ।
साविक हिमाल सिमेन्ट कारखानाले चर्चेको चोभारस्थित ११.७७ हेक्टर जग्गामा बन्दरगाहा निर्माणको शिलान्यास गरिएको हो । प्रधानमन्त्री ओलीले यो बन्दरगाहा निर्माण भएपछि काठमाडौँका लागि उपभोग्य वस्तुको अभाव नहुने बताउनुभयो । दक्षिणबाट आउने रेल र उत्तरबाट आउने रेलले ल्याउने सामानको भण्डारण कक्षको रुपमा यो बन्दरगाहा उपयोग हुने प्रधानमन्त्री ओलीले बताउनुभयो ।

कीर्तिपुर नगरपालिकास्थित चोभारमा आज सुख्खा बन्दरगाहाको शिलान्यास गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओली

प्रधानमन्त्री ओलीले देश तीव्र विकासको गतिमा अघि बढ्ने बताउँदै सरकारका एक वर्ष कानुन निर्माण र अन्य तयारीमा वितेको बताउनुभयो । “संविधान थियो कानुन थिएन । त्यसले गर्दा एक वर्ष हामीले कानुन बनाउने काममा बितायौं । हामीले अब काम गर्ने वातावरण बनाएका छौं । अब देश तीव्र गतिमा अघि बढ्छ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।
बन्दरगाह निर्माणले स्थानीयबासीहरुका लागि रोजगारीका धेरै अवसर सिर्जना हुने प्रधानमन्त्री ओलीले बताउनुभयो । “यहाँ बन्दरगाहा निर्माणले रोजगारीका धेरै अवसर सिर्जना गर्छ । यातायातले यस ठाउँलाई विभिन्न ठाउँसँग जोड्छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “स्थानीयवासीका केही गुनासा र भनाइ भए सम्बन्धित निकायमा जानकारी गराउनुहोस् । सरकारले सकारात्मक ढंगले लिनेछ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले निर्माण कम्पनीलाई समयमै काम सक्न आग्रह गर्नुभएको छ । “तोकिएको मितिमा काम सम्पन्न गर्नुहोस् । गुणस्तरमा सम्झौता नगर्नुहोस्” प्रधानमन्त्री ओलीले भन्नुभयो । बन्दरगाहा १ अर्व, ४८ करोड ३४ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न हुने भएको हो ।

प्रतिक्रिया दिनुहोस्