Logo
Logo

करिब ४० लाखमा आयो बीवाइडीको डल्फिन कार


6k
Shares

काठमाडौं । बीवाइडीको नयाँ विद्युतीय गाडी डल्फिन सार्वजनिक गरिएको छ । सोमबार बीवाइडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले उक्त गाडी सार्वजनिक गरेको हो ।

बीवाइडीका ब्रान्ड एम्बास्डर हरिवंश आचार्यले ‘डल्फिन’ गाडी सार्वजनिक गरेका हुन् । गाडी सार्वजनिक गर्दै आचार्यले विद्युतीय सवारीसाधनको प्रयोग बढेकामा प्रसन्नता व्यक्त गरे ।

उक्त गाडीमा ७० किलोवाट क्षमताको मोटर भएको कम्पनीले जनाएको छ । त्यस्तै भएको ब्याट्रीले एक पटकको फुल चार्जमा ३४० किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ । यसमा १६ इन्चको अलोय ह्विल र १८५ मिलिमिटरको ग्राउन्ड क्लियरेन्स छ । यस्तै ह्विलबेस २ हजार ७ सय एमएम रहेको छ ।

गाडीमा १२.८ इन्चको फ्लोटिङ टच स्क्रिन कन्सोल, ३६० डिग्री क्यामेरा, इलेक्ट्रिकल्ली एड्जस्ट गर्न मिल्ने सिट, प्यानारोमिक सनरुफ, ५ इन्चको फुल एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर रहेको कम्पनीले जनाएको छ । अहिले चार वटा कलरमा गाडि उपलब्ध भएको छ ।

गाडी मंगलबार काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने नाडा अटो शोमा देख्न पाइने छ । गाडीको मूल्य ३९ लाख ८० हजार रुपैयाँ तोकिएको छ।

यसैबीच क्याम्पेनअन्तर्गत हाल सडकमा कुदेका डल्फिनको भिडियो बनाई सामाजिक सञ्जालमा पोस्ट गर्नेलाई उपहार प्रदान गरिनेछ । बीवाईडी डल्फिनलाई स्टाइलिस डिजाइनमा बेरेर काठमाडौंका सडकमा गुडाइरहेको कम्पनीले जनाएको छ ।

‘रोडमा बीवाईडी डल्फिन भेटेमा यसको भिडियो बनाएर फेसबुक, इन्स्टाग्राम वा टिकटकमा सार्वजनिक पोस्ट गर्नेले १ लाख जित्ने मौका पाउनुहुनेछ’ कम्पनीले क्याम्पेनबारे जानकारी दिँदै भनेको छ ।

यसमा सहभागी ३ जनाले १ लाख रुपैयाँका दरले पुरस्कार पाउने र सबै सहभागीले नाडा अटोसोमा निःशुल्क टिकट पाउने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्