Logo
Logo

प्रचण्ड सरकार ढाल्न आरजु सिंगापुर उडिन्


16.1k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण तयारी सँगसँगै प्रचण्ड सरकार ढाल्ने खेल भित्रभित्रै सुरु भएको छ । त्यसको संकेत शेखर कोइरालाले गरिसकेका छन् ।

यसैबीच देउवापत्नी आरजु राणा अस्ती आइतबार राति ११ बजे सिंगापुर एयरलाइन्सको एसक्यु ४४१ विमानबाट सिंगापुर उडेकी छिन् । त्यहाँ उनी राजनीतिक भेटघाटको कार्यक्रम रहेको एक सुत्रले बताएको छ । यो भेटघाट प्रचण्ड सरकार ढाल्न केन्द्रित रहेको बुझिएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री वालकृष्ण खाण पक्राउ परेदेखि प्रचण्डसँग रुष्ट शेरबहादुर देउवाले पटक पटक आग्रह गर्दा पनि गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई नहटाएपछि अन्ततः देउवा एमालेको समर्थनमा आफै प्रधानमन्त्री हुन तयार भएको स्रोतले बताएको छ ।

स्रोतका अनुसार एमालेले पहिलादेखि नै देउवालाई प्रधानमन्त्रीको प्रस्ताव गरे पनि ‘ओलीको विश्वास छैन’ भन्दै एमालेको प्रस्ताव अस्वीकार गर्दै आएका थिए । तर, अहिले देउवा प्रधानमन्त्री बन्न तयार हुनुको पछाडि प्रचण्ड चीनबाट फर्केपछि कम्युनिष्टहरू एक हुन्छन भन्ने डर नै हो ।

यसको संकेत गृहमन्त्री श्रेष्ठले गत साता बालुवाटारमा ‘बरु एमालेसँग मिलेर जाऔँ’ भनेर गरिसकेका छन् । त्यसपछि देउवा झस्किएको स्रोतको दाबी छ ।

हुन पनि सत्तागठबन्धनबाट प्रधानमन्त्री नपाएपछि प्रचण्ड ओलीकहाँ पुगेका थिए । ओलीले प्रचण्डलाई प्रधानमन्त्री बनाएदेखि देउवा ओलीसँग पनि शशंकित थिए । प्रचण्ड र ओली दुबै ठेगान नभएको नेता भएकाले यस पटक प्रचण्डलाई ढाल्न देउवाले ओलीको साथ लिन खोजेका हुन् ।

चीनको प्राथमिकता बीआरआईमा छ । नेपालमा कम्युनिष्ट पार्टीको बलियो सरकार नबनेसम्म उक्त आयोजना कार्यान्वयन हुने सम्भावना छैन । बीआरआई असफल पार्न कम्युनिष्टहरूलाई एक ठाउँमा आउन नदिने षडयन्त्र भइरहेको छ । त्यसैले कम्युनिष्टहरूलाई मिल्न नदिन ओलीलाई प्रयोग गरेर प्रचण्ड सरकार ढाल्ने योजना कतैबाट बनाइँदैछ ।

कांग्रेसका शीर्ष नेताहरू बीच प्रधानमन्त्रीको आसन्न अमेरिका र चीन भ्रमणपछि आलोचित हुने र त्यही बेलामा हटाउने भन्ने सहमति बनेको छ । कांग्रेसले एमालेसँग सहकार्य गरेमा कोशी प्रदेशमा पनि मध्यावधि निर्वाचन हुनबाट जोगिने निष्कर्ष निकालेको बताइन्छ ।

कोशीमा सर्वोच्चको परमादेशपछि ठूलो दलको नेताका हैसियतमा मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त भएपछि प्रतिक्रिया दिँदै कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले आधा आधा कार्यकाल बाड्ने शर्तमा सत्ता सहकार्य हुन सक्ने अभिव्यक्ति दिएका थिए ।

यसले पनि राजनीतिमा कोर्श करेक्सन हुन लागेको संकेत बुझ्न सकिन्छ । किनकि, दुई पटक नै सर्वोच्चबाट मुख्यमन्त्री पद गुमाएका नेताले नै जसले रिट हालेर आफ्नो पद खाइदिएको हो, त्यससँगै सहकार्य हुन सक्छ भन्नुले केही न केही अर्थ राख्छ ।

कांग्रेस र माओवादीबीच केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० बारे पनि कुरा मिलेको छैन । ऐनको दफा ६४ खारेज गर्नुपर्नेमा कांग्रेस, एमालेसहितका सबै दल छन् भने यथावत राख्नुपर्ने पक्षमा माओवादी मात्रै छ ।

कांग्रेस, एमाले, रास्वपा, नेमकिपा र स्वतन्त्र सांसदले विधेयकको दफा ६४ खारेज गर्न संशोधन हालेका छन् ।विधेयकको दफा ६४ मा हिंसात्मक क्रियाकलाप सञ्चालन गरिरहेका समूहलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन मुद्दा फिर्ता लिन सकिने प्रावधान राखिएको छ ।

यो दफा खारेज नभएमा माओवादीका धेरै नेता पर्ने भएकाले माओवादीले कुनै पनि हालतमा यो दफा खारेज गर्न दबाब दिइरहेको छ । तर, अरु दल यसमा सहमत नभएकाले पनि सत्ता गठबन्धनमा दरार ल्याइरहेको बताइन्छ ।

प्रधानमन्त्री प्रचण्डले यो दफा खारेज नगरी पारित गर्ने प्रयासस्वरुव एमाले अध्यक्ष ओलीसँग एक्लै र देउवासहित बैठक गरे पनि सहमति हुन सकेको छैन ।

यसरी, आन्तरिक राजनीतिमा परिवर्तनका संकेत आएको बेला देउवा पत्ती आरजुको सुटुक्क सिङ्गापुर भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । सभापति देउवाले विशेष राजनीतिक परिस्थितिहरुमा पत्नी आरजुलाई परिचालन गर्ने गरेका छन् । त्यसैले यस पटकको आरजुको सिङ्गापुर उडान देउवाकै योजनामा भएको स्रोतले बताएको छ ।

सिङ्गापुरमा रहेका आरजु राजनीतिक भेटघाटमा रहेको बुझिए पनि कुन पक्षसँग कस्तो भेटघाटमा छन् भन्ने खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्