Logo
Logo

आयल निगम गण्डकी प्रादेशिक कार्यालय प्रमुख दासविरुद्ध पक्राउ पुर्जी


3.7k
Shares

कास्की । नेपाल आयल निगम लिमिटेडको गण्डकी प्रादेशिक कार्यालयमा भएको डिजेल अपचलन घटनामा प्रादेशिक कार्यालय गगनगौंडाको प्रमुख चित्तरञ्जन दासविरुद्ध जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएको छ । घटनापछि फरार रहेका प्रमुख दासविरुद्ध कास्की अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

डिपो प्रमुख दास भने अझै फरार छन् । घटना बाहिरिएपछि उनलाई नेपाल आयल निगम लिमिटेडले निलम्बन गरिसकेको छ । सरकारी वकिलको कार्यालयले अदालतमा डिपो प्रमुख दासलाई कम्तीमा ५ वर्ष जेल सजाय र ५० हजार रुपैयाँ जरिवाना माग दाबी गर्दै मुद्दा दायर गरेको थियो । अन्य ३ जना व्यवसायीलाई जनही ३ वर्ष जेल सजाय वा ३० हजार जरिवाना वा दुवै सयाजको माग दाबीसहित मुद्दा दायर गरिएको थियो । डिजेल अपचलन घटनामा पक्राउ परेका पेट्रोल पम्प व्यवसायी बाबुराम जमरकट्टेलसहित ३ जनालाई धरौटीमा छोड्न जिल्ला अदालत कास्कीले आदेश दिएको छ ।

न्यायाधीश केशवप्रसाद बाँस्तोलाको इजलासले व्यवसायी जमरकट्टेलसहित गण्डकी–धौलागिरि पेट्रोलियम डिलर्स एसोसिएसनका कार्यालय सचिव जगन्नाथ ढुंगाना र ट्यांकर चालक निर्मल थापालाई धरौटीमा छोड्न आदेश दिएको हो ।
ट्यांकर धनीसमेत रहेका जमरकट्टेललाई १ लाख ५० हजार, ढुंगानालाई १ लाख र चालक थापालाई ७५ हजार धरौटीमा छाड्न आदेश दिएको अदालतका शाखा अधिकृत दुर्गाप्रसाद रिजालले जानकारी दिएका छन् ।

२५ साउनमा पोखरा डिपोबाट १२ हजार लिटर डिजेलको पैसा तिरेर निस्केको ट्यांकरलाई जिल्ला प्रशासन कार्यालय, कास्कीको अनुगमन टोलीले नियन्त्रणमा लिई जाँच गर्दा १५ हजार २ सय लिटर डिजेल फेला परेको थियो ।

तोकिएभन्दा ३ हजार २ सय लिटर बढी डिजेल अपचलन भएको घटनामा प्रहरीले विस्तृत अध्ययन गरी आयल निगमको तत्कालीन डिपो प्रमुख चित्तरञ्जन दाससहित तिनैजनालाई कारबाहीका लागि मुद्दा चलाउन जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन दिएको थियो ।

१२ हजार लिटर क्षमताको उक्त ट्यांकरमा ३ हजार लिटर इन्धन चोरी गरी बिक्री गर्न पठाइएको थियो । जिल्ला प्रशासन, नापतौल कार्यालय र आयल निगमले संयुक्त रुपमा नापजाँच गर्दा ३ हजार लिटर बढी इन्धन भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्