Logo
Logo

श्रीमती र बच्चासहित त्रिशुलीमा हाम फाल्ने लामिछानेलाई मुद्दा चल्ने


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३ पुस ।
बिहीबार साँझ त्रिशुलीमा श्रीमती र दुई छोरासहित हाम फालेका युवकले व्यापारमा घाटा भएपछि यस्तो निर्णय गरेको बताएका छन् । काठमाडौं थानकोट बस्ने विनय लामिछानेले बेनिघाटको पुलबाट हाम फालेकोमा विनयको उद्धार भएको छ भने श्रीमतीको मृत्यु भएको छ । दुई छोरा बेपत्ता छन् ।

मिटरब्याजमा लिएको पैसा तिर्न नसक्ने अवस्थामा पुगेपछि दम्पती सल्लाहमा नै त्रिशूलीमा हेलिएको प्रहरीको भनाई छ। प्रहरीले विनयको घरमा ऋणका कारण आफूहरुले आत्महत्यालाई नै अन्तिम विकल्पका रुपमा रोजेको सुसाइड नोट भेटिएको बताएको छ। यस्तै जमुनाका फेसबुक स्टाटसका आधारमा प्रहरी यस्तो निष्कर्षमा पुगेको हो।
प्रहरीले उनीहरु झलुंगे पुलबाट हामफालेको प्रारम्भिक अनुमान गरेको भए पनि विनयले आफूहरु नदीमा हेलिएको बताएका हुन्।उनीहरु बिहीबार बेनीघाट सिउरेनी पुल मुन्तिरबाट हात समाएर दुवै छोरालाई काखमा लिइ त्रिशूलीमा हेलिएको गजुरी प्रहरीलाई विनयले बताएका छन्। त्रिशूलीमा जलयात्रा गर्ने समूहले देखेपछि श्रीमान विनय लामिछानेको तत्काल उद्धार भएको थियो । संक्रान्ति मनाउन गजुरी ६ आदमघाट बजारस्थित माइतीसमेत रहेका वडाध्यक्ष कुमार रेग्मीको घर जान्छु भनेर पोखरा जाने बसमा चढेका लामिछाने दम्पति आदमघाटस्थित माइतीघर नझरेर बेनीघाट बजार झरेका थिए।

जमुनाले आफ्नो अंग्रेजी नाम उल्टो बनाएर फेसबुकमा पुस १९ गते ७ बजेर ४९ मिनेटमा लेखेको स्टाटसमा मिटर ब्याजमा रकम लिएको र सोको ब्याज र साँवा भुक्तानी गर्न रकम धनीले दबाब दिएको उल्लेख गरेकी छन्। जमुनाले चलाएको ‘इम्गिर अनुमाज’ नामक फेसबुक एकाउन्टमा गत जनवरी ४ मा थानकोटमा नयाँ डिएसपी आएको मिटरब्याजमा ऋण दिएर ब्याज तिर्न नसक्नेलाई मर्न बाध्य बनाउने गिरोहलाई कारबाही गर्न माग गरेकी थिइन्।
उनले फेसबुकमा आफनो नाम उल्टोपाल्टो बनाएर परिवर्तन गर्नु र मिटर ब्याजका अपराधीको दबाब थेग्न नसकेपछि कारबाही हुने आशामा त्यस्तो स्टाटस राखेका हुनसक्ने अनुमान गरिएको धादिङ प्रहरी प्रमुख एसपी रवीन्द्र रेग्मीले बताए।

मकवानपुरको चित्लाङमा जन्मेमा लामिछाने हाल चन्द्रागिरी नगरपालिकाअन्तर्गत थानकोटमा बस्दै आएका थिए। उनीहरुले तिनकुनेस्थित कमोडिटी अनलाइन व्यापारमा सेयर लगानी गरेका थिए। सेयर लगानी गर्न विभिन्न व्यक्तिहरुबाट मिटर ब्याजमा करिब २ करोड ऋण लिएको थानकोटस्थित घरबाट प्रहरीले फेला पारेको ‘सुसाइड नोट’बाट पत्ता लागेको जिल्ला प्रहरीले जनाएको छ।

उनीहरुले ऋण लिएको रकम र ऋण दिने व्यक्तिको नाम र तिर्नुपर्ने रकम उल्लेख गरिएको घरमा छोडेको लिखतमा फेला परेको प्रहरीले बताएको छ। माघ २ गते लेखेर घरमा छोडिएको सुसाइड नोटमा अनलाइन व्यापारका कार्यकारी निर्देशकको नाम पनि उल्लेख गरिए पनि अनुसन्धानकै क्रममा रहेकाले प्रहरीले नाम गोप्य राखेको छ।
मृतक जमुना सिद्दलेक ७ वडघरेमा जन्मेर स्नातकोत्तरसम्मको अध्ययन गरेकी थिइन् भने विनयले २ वटा विषयमा स्नातकोत्तर अध्ययन गरेको पारिवारिक स्रोतले जनाएको छ।

विनयलाई आत्महत्या दुरुत्साहनमा मुद्दा चलाउने तयारी भइरहेको पनि एसपी रेग्मीले बताए। बेपत्ता भएका बच्चाको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्