Logo
Logo

आस्थाविरुद्ध ‘अभद्र व्यवहार’मा मुद्दा चलाउँदै प्रहरी


- दृष्टि न्युज/संवाददाता


 

काठमाडौं, ३ माघ । गायिका आस्था राउतलाई प्रहरीसँगको लफडाले धक्का लागेको छ । आफूलाई विमानस्थलमा चेकजाँच गरेको भन्दै प्रहरीमाथि खनिएकी आस्थाविरुद्ध प्रहरीले ‘अभद्र व्यवहार’को कसुरमा मुद्दा चलाउने तयारी गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षामा तैनाथ प्रहरी जवान रमिता श्रेष्ठमाथि आस्थाले ‘अभद्र व्यवहार’ गरेको आरोप छ । आस्थामाथि ‘गालीगलौज’ र ‘अभद्र व्यवहार कसुर’मा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
यही गएको बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (डोमेष्ट्रिक) बाट विराटनगर जान लागेकी आस्थालाई चेकजाँचमा गर्ने प्रहरी जवान रमितामाथि भनाभन भएको भिडियोसमेत सार्वजनिक भएको छ । आफूलाई प्रहरीले दुव्र्यव्यवहार गरेको भन्दै आस्थाले आफ्नो फेसबुक पेजबाट प्रहरीमाथि खनिएकी थिइन् । तर, प्रहरीले सार्वजनिक गरेको सिसीटिभी फुटेजमा आस्थाकै गल्ती देखिन्छ । अनुसन्धानकै क्रममा प्रहरीले सिसिटिभी फुटेज सार्वजनिक गरेको हो ।

प्रहरीले सार्वजनिक गरेको सिसिटिभी फुटेज

महानगरीय प्रहरी परिसर काठमाडौंले गायिका आस्थामाथि अनुसन्धान सुरु गरेको जनाएको हो । पीडित जवान श्रेष्ठले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा शुक्रबार आस्थाविरुद्ध उजुरी दिएकी छन् । प्रहरी प्रधान कार्यालयले विमानस्थलबाट आस्था र प्रहरी जवानबीच भएको विवादको सीसीटिभी फुटेज झिकाएर कसुर गर्नेमाथि कारबाही गर्न महानगरीय प्रहरी कार्यालयलाई निर्देशन दिएको थियो ।
अभद्र व्यवहारसम्बन्धी प्रारम्भिक अनुसन्धानमा आस्थाकै गल्ती देखिएको अनुसन्धानमा संलग्न एक प्रहरीले बताएका छन् । अभद्र व्यवहारको मुद्दा स्थानीय प्रशासनबाट कारबाही चलाइन्छ । प्रहरीले जिल्ला प्रशासन कार्यालबाट म्याद थपेर घटनाको थप अनुसन्धान गर्न सक्छ । कसुर प्रमाणित भएमा आरोपीविरुद्ध ५ महिनादेखि एक वर्षसम्म कैद वा ५ सयदेखि एक लाखसम्म जरिवाना वा दुवै सजाय गराउन सक्नेछ ।
आस्था नेपाली सांगीतिक क्षेत्रमा खाशै चिनिएकी गायिका होइनन् । उनका केही गीत चर्चामा आएपनि उनलाई सिमित दर्शक तथा श्रोताले मात्र चिन्छन् । त्यसमाथि २४सै घण्टा ड्युटीमा खट्न प्रहरीले उनलाई चिन्ने कुरै भएन । तर, आस्थाले आफू गायिका भएको दम्भ देखाउँदै प्रहरीले आफूमाथि ‘तँ’ शब्द प्रयोग गरेको भन्दै प्रहरीलाई गालीगलौज गरेको भिडियो सार्वजनिक गरेकी थिइन् । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरी अनुसन्धान सुरु गरेको थियो ।

आस्था राउतले आफ्नो फेसबुक पेजबाट सार्वजनिक गरेको भिडियो

प्रतिक्रिया दिनुहोस्