आइतबारदेखि मौसम पूर्ण सुधार हुने


Published On : 18 January, 2020

काठमाडौं, ४ माघ । बिहीबारदेखि प्रभावित मौसम आज शनिबारबाट सुधार हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव विस्तारै कम भई मौसममा क्रमिकरुपमा सुधार हुँदै गइरहेको मौसमविद् विभूति पोखरेलले बताए । उनले भने, ‘भोलिबाट मौसम पूर्ण सुधार हुनेछ । तत्काललाई अब वर्षा हुने सम्भावना छैन ।’
आज शनिबार देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ ।
राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र तराईका भू–भगामा आंशिक बदली भई पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ । आइतबार देशभर आंशिकदेखि सामान्य बदली भई पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना औँल्याइएको छ । सोमबार देशभर मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्