हैटौंडा । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करीमा बाग्मती प्रदेशका मन्त्रीको जोडिएको भन्दै सरकारको जवाफ मागेको छ । शनिबार बसेको प्रदेशसभा बैठकमा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले एक किलो सुन तस्करीमा प्रदेशका मन्त्रीको नाम जोडिएको भन्दै ध्यानाकर्षण गराएका हुन् ।

केही दिनअघि दुबईबाट काठमाडौं आएका तीन जनाले मलद्वारमा लुकाएर ल्याएको एक किलो सुन बरामद भएको थियो । उक्त प्रकरणम पक्राउ परेकाले बयानका क्रममा तस्करीमा काभ्रेका तरुण दलका नेता विकास लामाको संलग्नता खुलेको प्रहरीले जनाएको छ ।
विकास लामा बागमती प्रदशेका खानेपानी उर्जा तथा सिँचाइमन्त्री तीर्थ लामा निकट हुन् । एमाले संसदीय दलका नेता थपलियाले मन्त्रीको नाम नलिई सुन तस्करीमा मन्त्रीको नाम जोडेर सञ्चार माध्यमहरुमा समाचार आएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
‘हाम्रै प्रदेश सरकारका मन्त्रीको नाम उल्लेख गरेर सुन तस्करका सन्दर्भमा पत्रपत्रिकामा आएको छ । यो हो वा होइन रु’ उनले भने, ‘सरकारले संसदलाई यसबारे सुसूचित गराउनुपर्छ ।’ यदि निर्दोष हो भने सरकार र मन्त्रीले बोल्नुपर्ने उनको भनइ छ ।
सरकार बेखबर भएर बस्न नहुने भन्दै उनले भने, ‘एउटा जनप्रतिनिधि र मन्त्रीका बारेमा प्रश्न उठिसकेपछि कारबाही भइञजेलसम्म मन्त्री पद छोड्नुपर्छ कि पर्दैन ।’














