काठमाडौं । नाडा अटो शोको आज अन्तिम दिन । नाडा अटो शोमा विद्युतीय सवारी साधनप्रति ग्राहकहरुको आकर्षण बढिरहँदा गत शनिबार काठमाडौंका युवाहरुले पेट्रोलियम पदार्थको प्रयोग विरुद्ध प्रदर्शन गरेका थिए ।
बढ्दो वातावरण प्रदुषणप्रति सचेत युवाहरुले पाटन दरबार स्क्वेयरमा ‘इण्ड फोसिल फूयुल्स’ लेखिएको प्लेकार्डसहित विरोध प्रदर्शन गरिरहँदा यता भृकुटी मण्डपमा सञ्चालन भइरहेको नाडा अटो शोमा विद्युतीय सवारी साधन बुकिङ गर्नेको संख्या ८० प्रतिशत पुगेको छ ।
नाडा अटो शोमा ६० प्रतिशत विद्युतीय सवारी साधनको स्टल रहेको छ । जसमध्ये विद्युतीय सवारी साधनमात्र उत्पादन गर्ने विश्व प्रसिद्ध ब्राण्ड बीवाइडीमा ग्राहकको ठूलो भीड लागेको थियो । प्रदर्शनीमा बीवाइडीको ‘डल्फिन’ कारले सबैलाई लोभ्याएको छ । डल्फिन कार बुकिङ गर्नेमा अधिकांश महिला रहेका छन् ।
बीवाइडीको आधिकारिक विक्रेता साईमेक्स इंकका अनुसार आज दिउँसोसम्म डल्फिन कार १७० वटा बुकिङ भइसकेको छ । त्यसैगरी, बीवाइडीकै एटो–३ ग्राहकको रोजाईमा परेको छ । अहिलेसम्म नेपालको सडकमा गुडिरहेको अन्य विद्युतीय कार भन्दा एटो–३ आकर्षक रहेको छ । नाडा अटो शोमा एटो–३ कार १२० भन्दा बढी बुकिङ भएको छ ।
बीवाइडी विश्व प्रसिद्ध ब्याट्री निर्माता कम्पनी भएकाले यसप्रति आम उपभोक्ताको विश्वास जागेको छ । विद्युतीय सवारी भन्ना साथ एउटै प्रश्न गर्छन्– यसको ब्याट्री कति वर्षसम्म चल्छ ? बीवाइडीले आफ्नो उत्पादनमा ब्याट्रीको ग्यारेन्टी दिने गरेको छ ।
नेपालमा विद्युतीय सवारी साधनप्रति आकर्षण बढिरहेका बेला विभिन्न कम्पनीले आ–आफ्नो विद्युतीय सवारी साधन नाडा अटो शोमा प्रदर्शनीमा राखेका छन् । बीवाइडीको ‘डल्फिन’को मूल्य करिब ४० लाख रहेको छ भने एटो–३ को मूल्य ५६ लाखसम्म रहेको छ ।