
काठमाडौं । काठमाडौंको पशुपतिनाथ मन्दिर क्षेत्रमा तीन हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । हरितालिका तीजको अवसरमा भक्तजनको सुरक्षालाई मध्यनजर गर्दै पशुपति मन्दिर परिसरमा २ हजार ९६६ जना सुरक्षाकर्मी परिचालन गरिएको हो ।
यसरी खटिनेमा महिला प्रहरीको सङ्ख्या ६ सय ३० रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रति सिफ्टमा १ हजार ४८३ जनाका दरले प्रहरी सुरक्षामा खटिने व्यवस्था मिलाइएको छ ।
पैदल गस्ती, मोबाइल गस्ती, कर्डन, सादा पोसाक, पिकेटिङ, स्ट्राइकिङ, रिजर्भ, सिसिटिभी, वाकथ्रु गेट, ड्रोनबाट निगरानी, ट्राफिक व्यवस्थापन, विपद् व्यवस्थापन लगायतका माध्यमद्वारा सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।
पशुपतिनाथ मन्दिर परिसरमा तीज पर्व सम्पन्न नभएसम्मका लागि कमान्ड पोष्टको स्थापना गरिएको छ । जसको कमाण्ड प्रहरी वरिष्ठ उपरीक्षक हिमालय कुमार श्रेष्ठले गरिरहेका छन् ।














