Logo
Logo

कार दुर्घटनामा परेकासँग पेस्तोल, दुई पक्राउ


- दृष्टि न्युज/संवाददाता


जनकपुरधाम, ५ माघ । सवारी दुर्घटनामा परेका दुईजना चाइनिज पेस्तोलसहित पक्राउ परेका छन् । शनिबार साँझ जनकपुरधाम उपमहानगरपालि–१ भानुचोकमा मोटरसाइकल र कार ठोक्किएपछि सो दुर्घटनाको जाँच गर्नेक्रममा कारमा सवार दुई जना चाइनिज पेस्तोलसहित पक्राउ परेका हुन् ।
पछिल्लो समय साना हातहतियारको बिगबिगी बढ्न थालेको छ । यससँगै अपराधका शृंखलाहरु पनि उत्तिकै बढ्दै गएको विभिन्न तथ्यांकले जनाएको छ । प्रहरीका अनुसार बा १४ च ७४५९ नम्बरको कारले ज ९ प ५८०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा डिएसपी रामेश्वर कार्कीसहितको टोली दुर्घटना स्थलमा पुग्दा कारमा सवारसँग शंका लागेपछि चेक गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् ।
शंका लागेपछि प्रहरीले गाडीको खनतलास गर्दा डिक्कीभित्र लुकाई छिपाई राखिएको ठूलो चाइनिज पेस्तोल पेस्तोल १ थान, त्यसमा लाग्ने गोली ६ राउन्ड, म्याग्जिन १ थान बरामद गरेको धनुषा प्रहरीले जनाएको छ । दुवै जना अहिले प्रहरी नियन्त्रणमा छन् । पक्राउ पर्नेमा धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका–१ रम्दैया का ४२ वर्षीय जितेन्द्रकुमार यादव र वडा नं. ५ का ३० वर्षीय कुमोदनारायण झा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्