काठमाडौं । नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टीका पूर्वनिर्धारित कार्यक्रमहरुलाई व्यवस्थित रुपमा अघि बढाउन नेतृत्वलाई दवाव दिने भएका छन् ।

आसन्न केन्द्रीय समिति बैठक अघि मंगलबार काठमाडौंमा बसेको कोइराला समूहको बैठकले महासमिति बैठकको तयारी, समयमा नै १५औं महाधिवेशन गर्ने तयारी लगायतका बिषयमा नेतृत्वलाई दवाव दिने निर्णय गरेको हो ।
बैठकपछि कांग्रेस नेता दिलेन्द्रप्रसाद बडूले यसअघिको कार्यसमितिबाट पारित गरेको कार्यतालिकाको समिक्षा हुनुपर्ने र भएका कमीकमजोरीका बारेमा सुधार गरेर जाने बिषयमा छलफल भएको बताए । उनले महासमितिको एजेण्डा तथा महाधिवेशनका लागि क्रियाशिल सदस्यको बिषयलाई टुङ्गाउनका लागि तयारीबारे छलफल भएको जानकारी दिए ।
त्यस्तै, अहिलेको सन्दर्भमा सरकारले राम्रो काम गर्नुपर्ने र सन्तोषजनक अवस्था नरहेकाले जनता केन्द्रीत काम गर्नुपर्नेमा बैठकको जोड रहेको उनले बताए ।
त्यस्तै, कांग्रेस नेता सञ्जय गौतमले पार्टी र सरकारको कार्यसम्पादन प्रभावकारी बनाउनका लागि केन्द्रीय समितिमा ध्यानाकर्षण गराउने बताउनुभयो । उहाले कोशी प्रदेशमा पनि सरकार गठन गर्दा कांग्रेसले लिएको निर्णय न्यायसंगत नभएको निष्कर्ष रहेको जिकिर गरे ।
कोइराला समूहले बिभिन्न बिषयमा पार्टी सभापति शेर बहादुर देउवासँग पनि छलफल गर्ने जनाएको छ । कांग्रेसको केन्द्रीय समिति बैठक असोज ४ गते बोलाइएको छ ।














