Logo
Logo

क्यासिनोमा कालोधन : सम्पत्ति शुद्धीकरण विभागमा समेत चलखेल


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ७ माघ । २०६४ को संविधानसभा निर्वाचनपछि गठन भएको तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारका गृहमन्त्री वामदेव गौतमले क्यासिनोहरु अपराधका कारखाना हुन् भन्ने अभिब्यक्ति दिएका थिए । क्यासिनोको लतमा लागेका वीरेन श्रेष्ठ प्रधानले पैसाका लागि बालिका ख्याती श्रेष्ठको विभत्स हत्या गरेपछि तत्कालीन गृहमन्त्री गौतमले क्यासिनो अपराधका कारखाना भएकाले नेपालीलाई प्रवेश निषेध नै गर्नुपर्ने धारणा राखेका थिए । नेपालका क्यासिनोहरुमा त्यसपछि नेपाली प्रवेशमा कडाइ गरियो । तर क्यासिनोमा स्रोत नखुलेको कालोधन लगानी भएका बिषयमा पनि सरोकारवाला निकायले गम्भीरतापूर्वक छानबिन गर्नुपर्ने आवाज उठिरहेको छ । क्यासिनोमा लगानी गर्नेहरुमा ज्यान मुद्दा लागेका, नक्कली भारतीय नोटका कारोबारीदेखि अरबौं करछली गर्नेहरु पनि छन् ।

ज्यानमुद्दा लागेर लामो समयदेखि विदेशमा लुकेर फर्किएपछि श्रीलंकन ब्यवसायीसँग मिलेर होटल मल्लमा बेल्लिज क्यासिनो संचालन गर्दैआएका ज्ञानेन्द्र श्रेष्ठ ‘बाबा’ले क्यासिनो ¥याड खरिद गर्ने प्रयास सफल नभएपछि रोयल क्यासिनो खरिद गरेका छन् । श्रेष्ठले बेल्लिज क्यासिनो विनादर्ता र करसमेत नतिरी सर्वोच्च अदालतको २०७४ पुस २३ गते सर्वोच्चका तत्कालीन न्यायाधीश दीपकराज जोशीको अन्तरिम आदेशका आधारमा संचालन गरिरहेका छन् । अब उनले रोयल क्यासिनो खरिद गर्न करिब ८५ करोडमा डिल गरी केही रकम दिइसकेको स्रोत बताउँछ । ८५ करोडमा रोयल क्यासिनो खरिद गरिए पनि कर छल्न कागजमा भने कम रकम देखाइएको स्रोत बताउँछ ।

भारतीय नागरिक आशिष पटेलले गिल्ट इन्टरनेशनलबाट २५ करोडमा २०७५ भदौ १७ मा रोयल क्यासिनो जयन्ती थापाको नाममा खरिद गरेका थिए । रोयल क्यासिनोकै कर्मचारी थापाका नाममा क्यासिनो खरिद गरेका पटेललाई पछि सुनिलजंग रायमाझी, मनोज सुवेदी, गोकर्ण लामिछाने, बेदप्रसाद काप्रीहरुले लगानी नै फिर्ता नगरी क्यासिनोबाट निकाले । जयन्ती थापाले रायमाझीहरुसँग मिलेर पटेललाई उनको लगानी समेत फिर्ता नदिई निकालेपछि उनका बिरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी प¥यो । जुन उजुरी रायमाझीहरुकै डिजाइनमा हालिएको थियो । पटेललाई क्यासिनोबाट निकालेपछि २०७६ असारमा रायमाझीहरुले क्यासिनो संचालन गर्न थाले । यसबीचमा क्यासिनो संचालन अनुमति दिने होटल याक एण्ड यतिका संचालक राधेश्याम सर्राफलाई भाडाबापत ५० लाख रुपैयाँ दिने भनेर रायमाझीले लगे । त्यो रकम सर्राफलाई नदिई अन्जली श्रेष्ठ, रायमाझी र काप्री मिलेर भागबण्डा गरी खाएको आरोप छ । सर्राफसँग लामो समयदेखि सम्बन्ध रहेकी अन्जलीले नै भाडाबापतको रकम सर्राफलाई नदिने भूमिका खेलेको स्रोत बताउँछ । त्यो रकम पचाएर अन्जली अमेरिका समेत घुमघाम गरी फर्किएकी थिइन् । सामान्य मजदुर जयन्ती थापासँग क्यासिनो खरिद गर्ने २५ करोड कहाँबाट आयो, सम्पत्तिको स्रोत छानबिनका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा परेको उजुरी ढिसमिस गर्नका लागि जयन्ती थापा र युवराज श्रेष्ठले ५० लाख खर्च गरेको देखाइए पनि त्यसमा समेत घोटाला भएको स्रोतले बताएको छ ।

लगानीकर्तालाई क्यासिनो प्रवेश निषेध

श्रीलंकनको ७५ प्र्रतिशत लगानी रहेको बेल्लिज क्यासिनोका मूल लगानीकर्ता श्रीलंकाली नागरिक अनुराधा फरेरा र उनको नेपाली पार्टनर जीवन चन्द हुन् । तर उनीहरुलाई ज्ञानेन्द्र श्रेष्ठले क्यासिनोभित्र पस्नै दिएका छैनन् । श्रीलंकाले बाहिरी देशमा लगानी गर्नका लागि प्रत्यक्ष विदेशी लगानी(एफडीआई)को अनुमति दिंदैन । त्यस्तो अनुमति नभएकाले बैधानिक तवरबाट रकम भित्र्याउन संभव नभएपछि श्रीलंकाका लगानीकर्ता फरेराले बैध रुपमा नल्याई सोझै ल्याएर बेल्लिज क्यासिनोमा लगानी गरेका थिए । तर त्यो क्यासिनोमा लगानी गरेको केही महिनापछि नै ज्ञानेन्द्र श्रेष्ठले क्यासिनो कब्जा गरेका छन् । श्रीलंकाका ब्यवसायीले कानुनी रुपमा क्यासिनोको लगानीको दाबी गर्ने अवस्था छैन । श्रेष्ठले उनीहरुलाई प्रवेश नै दिएका छैनन् ।

रोयल क्यासिनो खरिद गर्नका लागि ज्ञानेन्द्र श्रेष्ठले विवादित पूर्व सांसद ल्यारक्याल लामालाई पनि मुख्य लगानीकर्ताका रुपमा राखेको स्रोत बताउँछ । चपली बुढानीलकन्ठको गणेश स्कुलसँगै सार्वजनिक जग्गा अतिक्रमण गरी घर बनाएका ल्यारक्याल लामाले श्रेष्ठसँग मिलेर क्यासिनो रोयल खरिद गरी आगामी फ्रेबुअरीबाट सञ्चालन गर्दैछन् । विभिन्न आरोप लागेका ज्ञानेन्द्र श्रेष्ठ बाबालाई तत्कालीन महानगरीय प्रहरी आयुक्त जयबहादुर चन्द र तत्कालीन काठमाडौं परिसरका एसएसपी विश्वराज पोखरेलले असल चालचलन भएको प्रहरी रिपोर्ट दिएपछि उनी क्यासिनो सञ्चालक बनेका हुन् ।

अन्तरिम आदेशकै भरमा ५ बर्षदेखि क्यासिनो संचालन

सामान्य किराना पसल संचालन गरी जीवीकोपार्जन गर्ने ब्यवसायीले कर नतिरेमा चर्को जरिवानासहित ब्याज जोडेर असुलउपर गरिन्छ । तर सरकारी ऐन नियम र निर्देशनलाई पूर्णरुपमा पालना गर्छु भन्दै पाँचतारे होटलमा क्यासिनो (जुवाघर) बाट दसौं बर्षदेखि करिब डेढ अर्ब कर सरकारले असुल गर्नसकेको छैन । बरु सरकारलाई चुनौती दिंदै कतिपय क्यासिनो रिट दायर गर्ने र अन्तरिम आदेशका आधारमा क्यासिनो संचालन गरिरहेका छन् । एसएसपी पोखरेलले उनलाई अहिले पनि संरक्षण गर्ने काम गरेका छन् ।

काठमाडौं उपत्यकाका पाँचतारे होटलमा ३ वटा क्यासिनो अन्तरिम आदेशकै भरमा संचालनमा छन् । अदालतले ५ बर्षअघि दिएको अन्तरिम आदेशका आधारमा ८ वटा मिनी क्यासिनो संचालित छन् । रक इन्टरनेशनलले २०७१ असार १३ गते सर्वोच्च अदालतको अन्तरिम आदेश लिएर ४ वटा मिनी क्यासिनो संचालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्