Logo
Logo

विशिष्ट व्यक्तिलाई नियमविपरित दिइएको सुविधा फिर्ता गर्न सरकारलाई निर्देशन


10.5k
Shares

काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले विशिष्ट व्यक्तिलाई मापदण्डविपरीत दिइएको सुरक्षा अधिकृत, सवारी चालक र भान्सेहरूलाई १५ दिनभित्र फिर्ता गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको समितिको बैठकले उनीहरुलाई फिर्ता गर्दै आफ्नो दरबन्दी भएको ठाउँमा पठाउन निर्देशन दिएको हो ।

त्यस्तै, सरकारका मन्त्री तथा पदाधिकारीले नियमानुसार पाउनेभन्दा बढी सवारी साधन प्रयोग गरेको भए सो पनि फिर्ता गर्न निर्देशन दिएको छ ।

समितिको बैठकले गरेको निर्णयबारे जानकारी दिँदै समिति सभापति रामहरि खतिवडाले भने, ‘नियमअनुसार भीभीआईपी र भीआईपीहरूलाई प्राप्त हुने सुविधाबाहेकका अन्यलाई मापदण्डविपरीत उपलब्ध गराइएका पीएसओ, सवारी चालक र भान्सेहरू कुल कति छन् ? र मापदण्डविपरीत उपलब्ध गराइएका पीएसओ, सवारी चालक र भान्सेहरू १५ दिनभित्र फिर्ता गरी आफ्नो दरबन्दी भएको ठाउँमा पठाउन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरिएको छ ।’

सरकारका मन्त्रीलगायत सम्पूर्ण पदाधिकारीले नियमभन्दा बढी सवारी साधनहरू प्रयोग गरेको छ । त्यसरी नियमभन्दा बाहिरका सुविधा फिर्ता गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

‘नेपाल सरकार तथा प्रधानमन्त्री, मन्त्रिपरिषद् कार्यालयको निर्णयअनुसार सुशासन कायम राख्नका लागि सार्वजनिक बिदाका दिन अफिस खोल्ने निर्णय भएको सुनिन आएको थियो’ उनले भने, ‘सरकारले गरेका निर्णयमा आर्थिक सहयोगको निर्णयचाहीँ तुरुन्त कार्यान्वयन हुने र अरु निर्णय अलि पछिपछि कार्यान्वयन हुने हुँदा यसलाई पनि बिदाको दिन अफिस खोल्ने निर्णय यथाशीघ्र कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिने निर्णय भएको छ ।’

प्रतिक्रिया दिनुहोस्