Logo
Logo

‘महिलामाथि हेर्ने नियत नै खराब’


- एमपी सुब्बा


  • एमपी सुब्बा

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ हल । गत सोमबार २ बजेतिर । जहाँ कलाकार र पत्रकारको भीड लागिसकेको थियो । सबैको ध्यान मञ्चको भित्तामा टाँसिएको ब्यानरमा थियो । कतिपयलाई कौतुहलता भयो, ‘क–कसको नियतको पर्दाफास हुँदैछ यहाँ ?’ यस्तै, कौतुहलता र प्रश्नले केही शसंकित देखिन्थे । जहाँ पत्रकार डिबी खड्काले रंगीन दुनियाँ भनेर चिनिने नेपाली फिल्म क्षेत्रमा भएका खराब नियतमाथि तयार पारेको पुस्तक ‘नियत : रंगीन दुनियाँको रंगहीन दृष्टान्त’ सार्वजनिक हुँदैथियो ।

‘मैले राम्रो समूहसँग काम गर्ने अवसर पाएकाले पुस्तकमा उल्लेख भएकैस्तरको शोषण भोग्नु परेको छैन । तर, सुरुवाती चरणमा केही प्रलोभन देखाउनेहरु भेटेँ, तिनीहरुलाई वास्तै गरिनँ ।’ पछिल्लो समय चर्चामा रहेकी अभिनेत्री स्वस्तिमाले फिल्म क्षेत्रमा नयाँ महिला कलाकारका लागि निकै गाह्रो रहेको आफ्नो अनुभव सुनाइन् । फिल्म क्षेत्रमा आफ्नो संघर्षताकाको स्मरण गर्दै उनले भनिन्, ‘सोसल मिडियामा विभिन्न खालका प्रस्ताव गर्नेहरु भेटिन्थे, तर म डिलिट गर्दिहाल्थेँ । कति फ्यानले फोटो खिच्ने बहानामा शारीरिक दुर्वव्यवहार गर्न खोजेका छन् । तर, म बेलैमा सतर्क हुन्छु ।’

 

मञ्चमा आसिन थिए, फिल्म क्षेत्रका तीन अभिनेत्री रेखा थापा, स्वस्तिमा खड्का र लक्ष्मी बर्देवा । उनीहरु अथितिमात्र थिएनन्, वक्ताका रुपमा समेत प्रस्तुत भएका थिए । औपचारिक रुपमा कार्यक्रम सुरु हुनअगावै केहीले उनीहरुलाई प्रश्न सोध्न समेत भ्याइसकेका थिए । एक यु–ट्युबरले अभिनेत्री रेखा थापालाई गेटमा छिर्दाछिर्दै सोध्न भ्याए, ‘पुस्तक पढेर आउनुभएको होला, कस्तो लाग्यो ?’ यु–ट्युबरको प्रश्न नसुनिएझैँ रेखा सरासर मञ्चतिर लम्किइन् ।

‘फिल्म क्षेत्रमा महिलामात्र होइन, पुरुष पनि शोषित छन्’ कार्यक्रमको सुरुमै रेखाले भनिन्, ‘तर यहाँ महिलामात्र शोषित भएको देखिन्छ । पुरुषको आवाज नै सुनिँदैन ।’ रेखाले आफू अभिनेत्री मात्र नभएर निर्मात्रीसमेत भएकाले फिल्म क्षेत्रमा पुरुषहरु पनि शोषित भएको बताइन् । तर, फिल्म क्षेत्रमा महिला कलाकारलाई हेर्ने नियत नै फरक भएको उनको भनाइ थियो । उनले भनिन्, ‘एउटा धनाढ्य परिवारको मानिसले आफ्नी छोरीलाई फिल्म क्षेत्रमा काम गर्न दिँदैन । तर, उसैले फिल्ममा काम गर्ने महिलाहरुको नियतमाथि प्रश्न उठाउँछ ।’

पुस्तक फिल्मी क्षेत्रमा महिला कलाकारमाथि हेरिने खराब नियतमाथि भएकाले तीन अभिनेत्रीलाई कार्यक्रममा बहसमा निम्ताइएको थियो । जो फिल्म क्षेत्रमा खराब नियतबाट भुक्तभोगी मानिन्छन् । अभिनेत्री रेखा छोटो पहिरनका कारण बेला–बेला खराब ‘नियत’को हेराइमा पर्छिन् । उनी पहिरनकै कारण विवाद र चर्चामा समेत आउने गरेकी छन् । तर, कार्यक्रममा आफ्नो छोटो पहिरनका कारण खराब नियत भोग्नुनपरेको उनले बताउँदै भनिन्, ‘एकपटक गाइजात्रेमा चाहिँ मेरो खिल्ली उडाइएको थियो । त्यो सम्झिँदा अहिले पनि नराम्रो लाग्छ । के महिलाले लगाएको पहिरनलाई गाइजात्रा बनाउन मिल्छ ?’ रेखाले फिल्म क्षेत्रमा अधिकांश महिला कलाकार खराब नियतको नजरमा पर्ने गरेको बताइन् । ‘यो क्षेत्रमा काम गर्ने सबै महिला कलाकारले त्यो नियत भोगेको हुन्छ’ रेखाले भनिन्, ‘त्यसमा गौरी मल्ल, करिश्मा मानन्धरहरु पनि पर्छन् । म पनि अछुतो छैन । तर, खराव नियत भएकालाई कसरी आफूले लिने हो, त्यो आफूमा भर पर्छ ।’

०००

बहसमा थिइन् अर्की अभिनेत्री स्वस्तिमा खड्का । स्वस्तिमाले सुरुमै पुस्तकबारे जान्न चाहिन् । ‘यो के विषयमा लेखिएको पुस्तक हो ?’ लेखक डीबी खड्काले फिल्म क्षेत्रकै कथा भएको बताएपछि स्वस्तिमाले प्रश्न गरिन्, ‘यसमा नेगेटिभमात्रै छ कि पोजेटिभ पनि छ ?’ स्वस्तिमाको हातमै थियो पुस्तक ‘नियत’ । उनले पाना पल्टाउँदै गइन् ।

सुरुमै स्वस्तिमाको आँखा प¥यो, ‘रंगिन दुनियाँ महिलाको लागि रंगिन छैन’ । सायद त्यो शब्दले स्वस्तिमालाई छोएको हुनुपर्छ । जब प्रश्न गरिन्, ‘के साँच्चिकै रंगिन छैन् त ?’ पुस्तकमा पहिलो कथामै छ ‘स्टारको ठेकेदार’ । मञ्चमै स्वस्तिमा पुस्तक मनमनै पढ्दै पल्टाउँदै गइन् । उनी जब छैटौ कथा ‘माछी जाल र हिरोइन’ । उक्त कथामा नायिकालाई जालमा पारेको कथा उल्लेख छ ।

उक्त कथाले स्वस्तिमालाई निकै छोयो । मानिसहरु अभिनेत्रीहरुको अभिनयभन्दा उनीहरुले लगाउने पहिरनको बारेमा बढी चर्चा गर्ने गरेको उनले गुनासो गरिन् । र, भनिन्, ‘यस्ता कुराले गर्दा अभिनेत्रीले फिल्मकोे चरित्र निर्माण र मिहिनेत समेत ओझेलमा पर्ने गरेको छ ।’ फिल्म क्षेत्रमा भएका केही खराब नियतका मानिसले गर्दा पुरै क्षेत्र बदनाम भएको उनको भनाइ थियो ।

उनी विस्तारै खुल्दै गइन् । र, उनी फ्ल्यासब्याकमा फर्किन् । स्वस्तिमाले भनिन्, ‘मैले राम्रो समूहसँग काम गर्ने अवसर पाएकाले पुस्तकमा उल्लेख भएकैस्तरको शोषण भोग्नु परेको छैन । तर, सुरुवाती चरणमा केही प्रलोभन देखाउनेहरु भेटेँ, तिनीहरुलाई वास्तै गरिनँ ।’ पछिल्लो समय चर्चामा रहेकी अभिनेत्री स्वस्तिमाले फिल्म क्षेत्रमा नयाँ महिला कलाकारका लागि निकै गाह्रो रहेको आफ्नो अनुभव सुनाइन् । फिल्म क्षेत्रमा आफ्नो संघर्षताकाको स्मरण गर्दै उनले भनिन्, ‘सोसल मिडियामा विभिन्न खालका प्रस्ताव गर्नेहरु भेटिन्थे, तर म डिलिट गर्दिहाल्थेँ । कति फ्यानले फोटो खिच्ने बहानामा शारीरिक दुर्वव्यवहार गर्न खोजेका छन् । तर, म बेलैमा सतर्क हुन्छु ।’

०००

मञ्चमा त्रिपक्षीय बहस चलिरहेको थियो । तीन अभिनेत्रीलाई सहजकर्ताको भूमिका निर्वाह गर्दैथिइन्, रंगपत्रकार दिपज्योती थापा । उनैले पुस्तकसँग जोडेर ती अभिनेत्रीहरुलाई खोतल्दै थिइन्, ‘के पुस्तकमा लेखिएजस्तो तपाइँहरुले खराब नियतको सामना गर्नुपरेको छ कि छैन ?’ एक छेउमै बसेकी रंगकर्मी समेत रहेकी अभिनेत्री लक्ष्मी बर्देवाले सुनाइन्, ‘पुस्तक पढ्दै गर्दा पुस्तकमा भएका कथाहरुसँग मेरो कथा पनि कतैकतै मिल्छ ।’ उनले पुस्तकका पात्रहरुले भोगेका भोगाइहरु आफ्नै भोगाई जस्तै लागेको बताइन् ।

अभिनेत्री लक्ष्मीले आफूपनि यौनहिंसाको शिकार भएको स्मरण गर्दै भनिन्, ‘म आफ्नो उमेरको अपरिपक्कताले गर्दा त्यहाँसम्म पुगेको थिएँ । त्यहाँबाट बचेर फर्किएँ ।’ त्यो एकजना गलत मान्छेलाई भेट्नुपूर्व राम्रो मान्छे पनि भेटेको स्मरण गर्दै उनले भनिन्, ‘त्यसैले मलाई यो क्षेत्रबाट पछाडि हट्ने मन भएनँ ।’

लेखक खड्काले फिल्मी पत्रकारिता गर्दा कलाकारिता क्षेत्रमा भएको नराम्रो पक्षलाई केलाएर पुस्तक तयार पारेको बताए । उनले भने, ‘पुस्तकमा रंगीन दुनियाँको रंगहीन पाटो उल्लेख गरेको छु ।’ डिबीले भने, ‘फिल्म क्षेत्रको अँध्यारो मात्र पक्ष देख्यो भनेर नभन्नु होला । फिल्म क्षेत्रको लागि सकरात्मक छु । फिल्म क्षेत्रमा अँध्यारो पक्षभन्दा उज्यालो पक्ष धेरै छ । तर, मैले अँध्यारो पक्षलाई पुस्तकमा ल्याएको हुँ ।’

पुस्तकमा कलाकारिता क्षेत्रमा प्रवेश गर्दा वा संघर्ष गरिरहँदा कलाकारले भोगेका कथा र उनीहरूमाथि त्यहीँ क्षेत्रका मानिसहरुले राखेको गलत नियतका कथाहरु समेटिएको छ । पुस्तकका उल्लेख गरिएका पात्रहरु यही फिल्म क्षेत्रमै रमाइरहेका छन् भने उनीहरुको नियतको शिकार भएकाहरु पलायन भइसकेका छन् । केही पात्रहरु भने नियत भोगेर पनि उज्यालो बाटो खोज्दै संघर्षरत छन् । पुस्तकमा उल्लेख गरिएको पात्रको नाम गोप्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्