Logo
Logo

प्लटिङबाट करोडौं ठगी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ७ माघ । गत तिहारमा जुवाखालबाट पक्राउ परेका भिआईपी जुवाडेहरुको सम्पत्ति छानबिन गर्ने बताइएपनि चलखेलमा रोकिएको छ । उनीहरुले अवैध गतिविधिबाट पैसा कमाएको आशंकामा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले तीन साता थुनामा राखेर अनुसन्धान ग¥यो । धरौटीमा छुटेका उनीहरु अहिले पनि पुरानै धन्दामा फर्किसकेका छन् । विभागमा सेटिङ मिलाइसकेको भन्दै उनीहरु छाती फुलाएर हिडेका छन् ।

त्यसरी छुटेका करोडपति जुवाडेमध्ये एक हुन् सोयल कार्की । उनले सर्वसाधारणलाई समेत ठगी गरेर अकुत सम्पत्ति कमाएको खुलेको छ । जग्गा व्यापारमा समेत आबद्ध उनले सार्वजनिक सम्पत्ति हडपेको र सर्वसाधारणलाई एउटा भनेर अर्काे जग्गा बिक्री गरेको खुलेको छ ।

उनले चप्पल कारखानामा सरकारी अनुमतिबिना नै एक सय चार रोपनी जग्गा प्लटिङ गरेर बिक्री गरिररहेका छन् । काठमाडौैं महानगरपालिका– ४ स्थित १०२–०९८७–०८ सिट नम्बरमा रहेको खोला खोल्सीको जग्गामा उनले अवैध रुपमा प्लटिङ गरेका छन् । त्यसमा रहेको ११३, ११४, ११५, ११६ नम्बरका कित्ता बिक्रीमा सर्वसाधारणलाई ठगी गरेका हुन् । कार्कीले ती कित्तामा अन्य व्यक्तिको जग्गा घुसाएर बिक्री गरेका छन् । अहिले सो तथ्य खुलेपछि पीडितहरुले उनीविरुद्ध विभिन्न निकायमा उजुरी गरेका छन् ।

सर्वसाधारणले किनेको जग्गामा अहिलेसम्म उनले बाटो बनाइदिएका छैनन् । ढल निकास पनि बनाएका छैनन् । कतिपयलाई एउटा जग्गा देखाएर अर्काे समेत बेचेका थिए । अहिले प्लटिङ गरिएका जग्गामा थरी थरीका मुद्दा परेका छन् ।

उनले बिज्ञापन एजेन्सीको नाममा जग्गाको कारोबार गर्दै आएका छन् । यसरी लाखौं कर छली गर्दै आएका छन् । कर कार्यालयले अनुसन्धान गरेमा प्रष्ट हुने छ ।

अर्कातर्फ यो प्लटिङको कतैबाट स्वीकृति समेत लिइएको छैन । प्लटिङका लागि महानगरपालिका तथा उपत्यका विकास प्राधिकरणबाट अनुमति लिनुपर्ने हुन्छ । अनुमति नलिएकाले कुनै पूर्वाधार बनेको छैन । जसका कारण करोडौं लगानी गरेका सर्वसाधारणहरु बिचल्लीमा परेका छन् ।

पर्ती जग्गा समेत मिचेको खुलेपछि स्थानीयले विरोध गरेका थिए । जग्गा त उनले छाडेका छन् । उनले वडाअध्यक्षसँग सेटिङ मिलाएर पर्ति जग्गा अतिक्रमण गरेका थिए । धेरै जग्गामा बाटो छैन । कित्ता नम्बर ३ सय ९७ मा पर्ती जग्गा मिसाइएको थियो । वडा कार्यालयको समेत मिलेमतोमा आफूहरु ठगिएको पीडितहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्