Logo
Logo

सुन तस्करी प्रकरण : उच्चस्तरीय आयोग गठन गर्न बैठक बस्दै


693
Shares

काठठमाडौं । ६० किलो सुन तस्करी प्रकरणको विषयमा छलफल गर्न सत्ता र प्रतिपक्षी दलको बैठक बस्दैछ । सुन तस्करी प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय जाचबुझ आयोग गठन गर्ने विषयमा छलफल गर्न दिँउसो २ बजे गृह मन्त्रालयमा बैठक बोलाइएको हो ।

यसअघि दलहरुबीच असोज ५ गते आयोग गठन गर्ने सहमति भएको थियो । तर सत्तापक्ष र प्रतिपक्षी दल आ–आफ्नै अडानमा रहेका कारण आयोग गठन हुन सकेको छैन । अहिले सत्तारुढ दलहरू आन्तरिक छलफलमा छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास समेत भइसकेको अवस्थामा साउन २ गते बरामद भएको ६० किलो ७१६ किलो सुन तस्करी प्रकरण अहिले अदालतमा छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान सकेपछि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सुन तस्करी प्रकरणको मुद्दा अदालत टेकाएको हो ।

अहिले उक्त तस्करीका आरोपीको अदालती बयान भइरहेको छ । अदालती बयान सकिएपछि थुनछेक बहस हुनेछ । थुनछेक बहस सकिएपछि अदालतले आरोपीहरुलाई तारेख, धरौटी वा थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने भन्ने आदेश दिनेछ ।

पछिल्लो २ महिनादेखि चर्चामा रहेको सुन तस्करीमा उच्चस्तरीय आयोग गठन गर्ने विषय भने अहिले ‘सेलाएको’ छ । मोटरसाइकलको ब्रेकप्याडको रुपमा भित्र्याएको सुन बरामद भएपछि नेकपा एमालेले उच्चस्तरीय छानबिन समितिको माग गर्दै साउन महिनाभरी संघीय संसद्का बैठक अवरोध गर्दै आएको थियो । एमालेले संसद्‌ अवरोध जारी राखेपछि सरकार उच्चस्तरीय समिति गठन गर्न राजी भएको थियो ।

तर, सहमतिअनुसार उक्त विषय कार्यान्वयन गर्न सरकार तयार देखिएको छैन् । एमालेले उच्चस्तरीय आयोग गठन गर्ने सहमति भए पनि त्यसअनुसार सरकार अगाडि नबढेको आरोप लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्