काठमाडौं । तनावपूर्ण खेलमा माल्दिभ्सलाई ४–१ ले हराउँदै घरेलु टिम नेपाल साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
तीन खेलाडीलाई रातो कार्ड देखाइएको खेलमा माल्दिभ्सलाई हराउँदै नेपाल समूह ‘ए’ को उपविजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको हो । यो समूहबाट यसअघि नै पाकिस्तानले विजेताको रूपमा अन्तिम चारको यात्रा तय गरिसकेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालको जितमा समिर तामाङले दुई गोल गरे । यस्तै, प्रशान्त लक्षम र निराजन धामीले गोल गरे । १७औँ मिनेटमा प्रशान्त लक्षमले उत्कृष्ट गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । समिरले ३०औँ मिनेटमा गरेको गोलबाट नेपालले अग्रता दोब्बर पार्यो ।
३४औँ मिनेटमा नेपाल र माल्दिभ्सका समान एक खेलाडी रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि दुवै टिम १० खेलाडीमा प्रतिस्पर्धा गरिरहेका छन् । नेपालका सुजन डंगोल र माल्दिभ्सका कप्तान मोहम्मद इयान हसनले रातो कार्डको दर्शन गर्दै मैदान छोडेका थिए ।
५८औँ मिनेटमा अदाम लयाम राशिदले गोल गर्दै माल्दिभ्सलाई २–१ को अवस्थामा ल्याएका थिए ।
यस्तै, ८१औँ मिनेटमा निराजन धामीले गोल गर्दै नेपाललाई ३–१ को अग्रता दिलाए ।
यस्तै, इन्जुरी समयमा समिरले व्यक्तिगत दोस्रो गोल गर्दै नेपालको अग्रतालाई ४–१ मा पुर्याएका थिए । यसपछि थप गोल हुन नसक्दा नेपाल जितसहित अन्तिम चारमा प्रवेश गरेको हो ।
खेल समाप्त भइसकेपछि रेफ्रीसँग विवादमा उत्रिँदा माल्दिभ्सका अफजल मोहम्मदले रातो कार्डको दर्शन गरेका थिए ।
नेपालले अब फाइनल प्रवेशका लागि समूह ‘बी’ को विजेतासँग खेल्नेछ । आजै हुने भारत र भुटानबीचको खेलबाट समूह ‘बी’ को विजेता र उपविजेताको टुंगो लाग्नेछ ।














