पाटन । कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले विद्यालय शिक्षा विधेयकमा भएका प्रावधानप्रति असन्तुष्ट शिक्षकसँग भएका सम्झौतामा सरकार पूर्ण प्रतिबद्धता रहेको बताएका छन्।
नेपाली कांग्रेसको जारी केन्द्रीय समिति वैठकको सुरुमा बोल्दै उनले शिक्षकको आन्दोलन र सरकारसँग भएको सहमति तथा कामकारबाहीबारे जानकारी गराउँदै संसद्को मर्यादा, प्रक्रिया र परम्पराभित्र रही सरकार र संसद् मिलेर शिक्षकका सबै मागलाई सम्बोधन गर्ने बताए ।

नेपाल कांग्रेसका उपसभापति समेत रहेका कार्यवाहक प्रधानमन्त्री खड्काले भने, ‘देशको संविधानसँग बाँझिने र अर्थतन्त्रले धान्न नसक्नेबाहेक माग सम्बोधन गर्न सकिन्छ भनेर मैले भनेको छु ।’
असन्तुष्ट शिक्षकले सुुरुमा कर्मचारीसँग वार्ता गर्दैनौँ भनेर अडान लिएको र पछि शिक्षामन्त्रीसँग पनि वार्ता गर्दैनौ भनेपछि उपप्रधानमन्त्रीको नेतृत्वमा वार्ता भएको बताए । उनले भने, ‘उहाँहरुका असन्तुष्टी वार्तामार्फत सम्बोधन गर्दै उहाँहरुकै मागअनुसार टुङ्गो लगाएका छौँ । उक्त सम्झौताप्रति सरकार पूर्ण प्रतिबद्धता छ ।’
संसद्को मर्यादा, प्रक्रिया र परम्पराभित्र राखेर सरकार र संसद् मिलेर शिक्षकका सबै मागलाई सम्बोधन गर्ने उनको भनाइ छ ।














