काठमाडौं । नेपाली कांग्रेसले महासमिति बैठक तयारीका लागि चार वटा समिति गठन गरेको छ। बिहीबारदेखि सोमबारसम्म बसेको केन्द्रीय समिति बैठकले महासमिति बैठकको तयारी समिति गठन गरेको हो ।

महामन्त्री गगन थापाका अनुसार सभापति शेरबहादुर देउवाको नेतृत्वमा मूल आयोजक समिति र उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा नीति निर्माण समिति गठन भएको छ । यस्तै महामन्त्री गगन थापाको नेतृत्वमा सांगठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा राजनीतिक प्रस्ताव समिति गठन भएको छ ।
महासमिति बैठकका लागि आवश्यकताअनुसार थपि समिति बनाउने अधिकार सभापतिले बैठकले दिएको थापाले बताए । कांग्रेसले आगामी मंसिर १३, १४ र १५ गतेका लागि महासमितिको बैठक तय गरेको छ ।
बैठकले विद्यालय शिक्षा विधेयकका सन्दर्भमा शुक्रबार गरेको निर्णयलाई लिपिबद्ध गर्ने छ । कांग्रेसले शिक्षा विधेयकमा संशोधन र परिमार्जन गर्ने प्रतिबद्धता जनाएको थियो ।














