
काठमाडौं । काठमाडौं महानगरका उपमेयर सुनीता डंगोलले ८ दिनदेखि उभिएर विरोध जनाइरहेका सामाजिक अभियन्ता ईःलाई भेटेका छन् ।
फुटपाथ व्यवसायीलाई अमानवीय तरिकाले हटाइएको भन्दै उनी असोज १ गतेदेखि राष्ट्रिय सभागृहको गेटमा उभिएर विरोध जनाइरहेका छन् । तीनै ईःलाई भेट्न उपमेयर डंगोल केहिबेरअघि राष्ट्रिय सभागृहको गेटमा पुगेको ईःले सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् ।
उनले भनेका छन्, ‘८ दिन अर्थात १६५ घन्टापछि उपमेयर आएर भेट्नुभयो । मेरो स्वास्थ्य अवस्था बुझ्दै सुस्वास्थ्यको कामना पनि गर्नुभयो । फुटपाथ व्यवसायीहरू विकल्प दिने नीति बनाउन आफूले प्रयास गर्ने तर आफ्नो भूमिका सीमित रहेको बताउनुभयो ।’
उनी राष्ट्रिय सभागृहको गेटमा १८८ घन्टादेखि उभिइरहेका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अभियन्ता ईःसँग आफूले वार्ता गर्न खोजेको र तर नमानेको बताएका थिए ।
‘विगत केही दिन देखि केही अभियानताहरू आन्दोलनमा हुनुहुन्थ्यो, उहाँहरूको कुरा सुन्न उहाँहरू उभिरहेको ठाउँमा म आफैं गएर वार्ता गरौं यहाँहरूको कुरा र समस्या सुनौं भन्दा अभियानताहरू संवादमा बोलाउँदा आउन खोज्नु भएन। लोकतान्त्रिक अभ्यासमा सबै कुरा समाधान संवादबाट नै हुनुपर्छ भन्ने कुरा हामीले बुझेको छौं, सयाद कुनै राजनितिकी स्वार्थ जोडिएर आउन नखोज्नु भएको होला भन्ने हामीले बुझेको छौं। के वार्ता हामीले उहाँहरूको नेतासँग गर्न पर्ने?,’ उनले भनेका थिए ।
तर, अभियन्ता ईःले मेयर बालेनले पार्किङमा वार्तामा बस्न नगरप्रहरी खटाएको बताएका थिए । ‘मेयर यहाँ आउनुभएको होइन। सँगै जवाफदेहिता माग गरिरहेका अन्य साथीहरू साक्षी छन्। करिब २० मिनेट अगाडि अकस्मात एक नगर प्रहरीले हामीलाई हप्काउँदै राष्ट्रिय सभागृहको पार्किङ लटमा बोलाए। हामीले कानून विज्ञ, शहरी व्यवस्थापन विशेषज्ञ, र सडक व्यवसाय प्रतिनिधि साथीहरूलाई बोलाउन ३० मिनेट समय माग्यौं। नगर प्रहरीले रिसाएर जवाफ दिए – त्यसोभए मेयरले भेट्दैन,’ ईःले भनेका थिए ।














