Logo
Logo

विवाह समारोहमा आगलागी हुँदा एक सयभन्दा बढीको मृत्यु



काठमाडौं । इराकको उत्तरी क्षेत्रमा एक विवाह समारोहमा आगलागी हुँदा कम्तीमा १ सय जनाको मृत्यु भएको छ । के कारण आगलागी भएको भन्ने अहिलेसम्म खुलाइएको छैन । अहिले घटनास्थलमा उद्धार टोली खटिरहेको विभिन्न एजेन्सीले उल्लेख गरेका छन् ।

अन्तराष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार आगलागी हुँदा १ सयको मृत्यु, १ सय ५० भन्दा बढी घाइते भएको सुरक्षाअधिकारीहरुले बताएका छन् । काराकोस जिल्लाको उक्त घटनामा इराकको स्वास्थ्य मन्त्रालयका अनुसार घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको छ ।

स्थानीय समय अनुसार मंगलबार राति १० बजेर ४५ मिनेटमा आगलागी सुरु भएको हो । यद्यपि, स्थानीय अधिकारीहरूले घाइतेको संख्याबारे मिश्रित तथ्यांक दिएका छन् । आगलागीबाट नवविवाहित जोडी पनि घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

विवाह समारोहमा पार्टी भइरहेको ब्यांक्वेट हलमा आगलागी छोटो समयमै फैलिएको बताइएको छ । इराकी रेड क्रिसेन्टले भने ४ सय ५० भन्दा धेरैको हताहत भएको हुन सक्ने बताएको छ । तर, कतिको मृत्यु भयो भन्ने यकिन तथ्यांक सार्वजनिक गर्न कठिन रहेको जनाएको छ ।

विवाह समारोहमा उपस्थित प्रत्यक्षदर्शीले सिंगो हल नै आगोले भरिएको प्रतिक्रिया दिएको पाकिस्तानी सञ्चारमाध्यम डनले उल्लेख गरेको छ । घटनापछि इराकका प्रधानमन्त्री मोहम्मद शिया अल सुदानीले विज्ञप्ति जारी गर्दै पीडितको उद्धारका लागि सम्पूर्ण उद्धारका प्रयास परिचालन गर्न गृह र स्वास्थ्यमन्त्रीलाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्