काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सर्वसाधारणले आयातित गुणस्तरहिन चिनी खरिद गर्न बाध्य भएको बताएका छन् ।
बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा उनले बजारमा सानो आकारमा प्याकिङ् भएको चिनी गुणस्तरहिन रहेको र बढी मूल्यसमेत लिने गरेको बताएका हुन् ।

उनले आफुले एक ठाँउमा प्रयोग गरेको चिनी पानीमा घुल्न समय लागेको र गुणस्तरहिन देखिएको बताए । समितिमा आफुले प्रयोग गरेको चिनीको प्याकेट पानीमा घोलेर देखाउँदै उनले गुणस्तरहिन चिनी बजारमा छ्याप्छ्याप्ती हुदा पनि यसको आयात रोक्ने प्रयास नभएको बताए । बास्कोटाले उखु किसानको समस्या समाधान गरेर स्वदेशी चिनी उत्पादनमा प्रोत्साहन गर्नुपर्ने धारणा राखे ।
बाँस्कोटाले चिनी उत्पादन र आयातकर्ता तथा सरकारबाट सहयोग प्राप्त गर्ने एउटै व्यक्ति भएकाले हरेक वर्ष चाडबाडका समयमा अभाव सिर्जना भएको जिकिर गरे । त्यस्तै उनले स्वास्थ्य उपकरण ल्याउने तर प्रयोग नगर्दा बिग्रने समस्याबारे सरोकारवालासँग छलफल गर्नुपर्ने बताए ।
त्यस्तै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले दैनिक उपभोग्यवस्तुमा भइरहेको कालोबजारी र महँगीले उपभोक्ता मारमा परेको भन्दै सरकारले ध्यान दिनुपर्ने बताए । उनले विधुत प्राधिकरणको डेडिकेटेड लाइनको राजस्व असुली नभएको अवस्थामा त्यसलाई पनि नाफामा देखाउने काम भएकाले छिटै टुङ्गो लगाउनुपर्ने बताए ।
समिति सदस्य लेखनाथ दाहालले समितिको प्रभावकारिता बढाउन छलफल र निर्णय गर्ने एजेण्डा प्राथमिकीकरण गर्न, विगतका उजुरी र निर्णय कार्यान्वयनको अवस्था बुझन तथा निर्णयलाई अलपत्र पार्ने निर्णय नगर्न सुझाव दिएका थिए ।
त्यस्तै, समिति सदस्य अर्जुननरसिंह केसीले दशैँको मुखमा कालोबजार मौलाएका अत्यावश्यक खाद्य सामग्रीलगायतमा मूल्यवृद्धि भइ आम जनता त्यसको मारमा परेको भन्दै त्यसतर्फ आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गराए । समिति सभापति ऋषिकेश पोखरेलले समितिले छलफलका लागि केहि बिषयबस्तु तयार गरेको भन्दै प्राथमिकता अनुसार छलफल अघि बढाउने जिकिर गरे ।














