काठमाडौं । साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसित पराजित भएको छ । दशरथ रंगशालामा भएको खेलमा नेपाल भारतसित टाइब्रेकरमा ३–२ गोल अन्तरले पराजित भएको हो ।

नेपालको लागि पेनाल्टी सुटआउमा प्रशान्त लक्सम लिम्बु, लक्ष्मण थापा र विक्रम तामाङले पेनाल्टीमा गोल गर्न सकेनन् । नेपालका लागि अश्विन घोरासिनी र कुशल देउवाले गोल गरेका थिए ।
त्यसअघि निर्धारित समयको खेल १–१ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो । भारतले २६ मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । गोम्सर गोयारीको हेडरलाई साहिल खुर्सिदले डिबक्स भित्रैबाट पोष्टमा प्रहार गरेका थिए ।
तर ७४ मिनेटमा नेपालका लागि समीर तामाङले बराबरी गोल फर्काए । उनले दीपक थापा मगरको असिस्टमा हेडर गोल गरेका थिए । भारतले अब फाइनलमा पाकिस्तानसँग खेल्ने छ । आजै भएको अर्को खेलमा भुटानलाई टाइब्रेकरमा नै हराउँदै पाकिस्तान फाइनलमा पुगेको थियो ।














