
काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश प्रथम अधिवेशनअन्तर्गत आज मतदान हुँदै छ । मतदान बिहान ८ बजेदेखि सुरु हुने कार्यतालिका रहेको छ ।
निर्वाचनमा अध्यक्षका लागि चारजनाको उमेदवारी परेको छ । अध्यक्षमा कैलाश ढुंगेल, कृष्ण दाहाल, सानु श्रेष्ठ, केशरबहादुर बुढाथोकी र केशव पाण्डेले उमेदवारी दिएका छन् । नयाँ नेतृत्वका लागि अध्यक्ष चारसहित उपाध्यक्ष, सचिव र उपसचिवका लागि पाँच पदमा २६ जनाको उम्मेदवारी परेको छ ।
उपाध्यक्षका लागि दावादोर्जे लामा, नारायण प्रसाद खतिवडा, सुवासचन्द्र ठकुरी, ईश्वरचन्द्र पोखरेल र राजेन्द्र राजथलाको उमेदवारी परेको छ । सचिवमा रत्ना गुरुङ, हस्त पण्डित, नवराज सिलवाल र डा. रामकुमार अधिकारीले उमेदवारी दिएका छन् ।
उपसचिवका लागि १२ जनाको उमेदवारी परेको छ । खड्गबहादुर खत्री, गंगादेवी श्रेष्ठ, डबल पाण्डे, टासी लामा, भक्तकुमारी लामा, ओमराज पन्त, ठाकुरप्रसाद गजुरेल, कृष्णहरि थापा, रमेश महर्जन, प्रेमबहादुर महर्जन, राजेन्द्र श्रेष्ठ र रीता गौतम ढकालले उपसचिवमा उमेदवारी दिएका छन् ।
अधिवेशनबाट एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव चयन हुने एमाले बागमतीले जनाएको छ ।














