काठमाडौं । सुरक्षाको माग गर्दै डाक्टरहरूले प्रदर्शन गरेका छन् । उनीहरुले बिहीबार काठमाडौंको बानेश्वरमा सुरक्षाको माग गर्दै प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा उत्रिएका उनीहरुले चिकित्सक र सम्पूर्ण स्वास्थ्यकर्मीहरूको सुरक्षा हुनुपर्ने सरकारसँग माग गरेका छन् । बिरामीका आफन्तले विभिन्न अस्पतालमा कार्यरत डाक्टरमाथि आक्रमण गरेको विरोधमा डाक्टरहरूले सरकारसँग सुरक्षाको माग गर्दै आएका छन् । सोहीक्रममा उनीहरु सडकमा उत्रिएर सुरक्षा माग गरेका हुन् । उनीहरूले सुरक्षा दिन नसक्ने गृहमन्त्रीको राजीनामासमेत माग गरे ।

पछिल्लो समय लमजुङ जिल्ला अस्पतालमा वडाध्यक्षले नै डाक्टरमाथि कुटपिट गरेका थिए भने केही दिनघि पोखराको मणिपाल अस्पतालमा बिरामीका आफन्तले डाक्टरमाथि कुटपिट र अस्पताल तोडफोड गरेका थिए । त्यसअघि हेटौंडामा पनि चिकित्सकमाथि हातपात भएको थियो । यसरी दैनिकजसो हातपात र आक्रमण हुन थालेपछि डाक्टरहरुले आफूहरु असुरक्षित भएको भन्दै सडकमा उत्रिएका हुन् ।














