Logo
Logo

एनआईसी बैंकको ठगीधन्दा, कर्जा प्रवाहमै करोडौं लुट



रौतहट । रौतहटको गरुडा बजारस्थित रहेका एनआईसी एसिया बैंकका शाखा प्रबन्धकसहितका कर्मचारीले ठगीधन्दा चलाएको खुलेको छ ।

बैंकले आफूहरूलाई ठगेको भन्दै ग्राहकले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएपछि एनआईसी बैंकको ठगीधन्दा बाहिर आएको हो । ऋण स्वीकृत र कर्जा प्रवाह गर्दा एनआईसी बैंकका कर्मचारीले ग्राहकसँग सापटी माग्दै ठगेका हुन् ।

बैंकका कर्मचारीले बेइमानी गरेपछि यही असोज दुई गते तीन जना पीडितले जिल्ला प्रशासन कार्यालय, रौतहटमा उजुरी दिएका थिए । त्यसपछि उक्त उजुरी अनुसन्धानका लागि प्रशासन कार्यालयले जिल्ला प्रहरी कार्यालयमा पठाएको थियो ।

तर, प्रहरीले पीडित र बैक प्रबन्धक एनआईसी बैंकका गरुडा शाखाका प्रबन्धक आमोद गुप्तासँग बयान लिनेबाहेक अरु केही गरेको छैन । यो विषय निकै गम्भीर भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठ बताउँछन् । तर, अनुसन्धान भने अगाडि बढाउन सकेको छैन ।

प्रबन्धक गुप्ताले चन्द्रपुर– १० मा रहेको जय बाबा बैधनाथ एग्रिकल्चर, दुर्गाभगबती–१ स्थित अशोका एग्रिकल्चर र चन्द्रपुर–८ मा रहेको अम्बे कृषि फर्मसँग सापटी भन्दै २ करोड ५ लाख रुपैयाँ लिएका थिए । उक्त रकम सात महिनासम्म फिर्ता नगरेपछि कानुनी कारबाहीको लागि पीडितहरू प्रहरीको शरणमा पुगेका हुन् ।

कृषि प्रयोजनको लागि माघ अन्तिममा सहुलियतपूर्ण ऋण स्वीकृत गरेपछि प्रबन्धक गुप्ताले अशोका एग्रिकल्चरका सञ्चालक अशोककुमार साहसँग नौ वटा खाली चेक लिएका थिए । तीमध्ये ८ वटा चेकबाट उनले ९ लाख ९५ हजारको दरले र एउटा चेकबाट ५ लाख ३४ हजार निकालेका थिए । उनले जम्मा ८४ लाख ९४ हजार चार सय रुपैयाँ निकालेका थिए ।

उनले चेक नम्बर ५७९६०१८१ बाट बैंकका सेक्युरिटी गार्ड धर्मेन्द्रकुमार महतो, चेक नम्बर ५७९६०१८५ सञ्जय यादव, चेक नम्बर ५७९६०१८३ बाट सचिन श्रीवास्तव, चेक नम्बर ५७९६०१७७ बाट पाना देवी, चेक नम्बर ५७९६०१८२ बाट राम बच्चु राउत, चेक नम्बर ५७९६०१७८ बाट आरएनकुमार साह, रामसिंह यादव र बादल गल्ला भण्डारको नामबाट ९ लाख ९५ हजारको दर पैसा निकालेका छन् ।

त्यसैगरी चेक नम्बर ५७९६०१८४ बाट आशा देवीको नाममा ५ लाख ३४ हजार निकालेका छन् ।

एग्रिकल्चरका सञ्चालक साहले सर्लाही बरहथवा नगरपालिका–१० सुन्दरपुर चोहर्वाको ४ बिगाहा १७ कठ्ठा जमिन धितो राखेपछि एनआईसी बैंकले ४ करोड ७५ लाख ऋण स्वीकृत गरेको थियो । तर, ऋण स्वीकृत हुनुअघि नै प्रबन्धक गुप्ताले खाली चेक मागेर विभिन्न व्यक्तिको नामबाट ८५ लाख रुपैयाँ निकालेको सञ्चालक साह बताउँछन् ।

यसैगरी बैधनाथ एग्रिकल्चरले पनि चन्द्रपुर–१० डुमरियाको २५ कठ्ठा र चन्द्रपुर–९ मा रहेको घरसहितको २ कठ्ठा पाँच धुर जमिन धितो राखेर ३ करोड २० लाख ऋण लिएको थियो ।

उक्त ऋण स्वीकृत गर्दा पनि प्रबन्ध गुप्ताले बैधनाथ एग्रिकल्चरका सञ्चालक पुष्पनाथ साहको छोरा राकेश साहको नाममा ७० लाख रकम राख्न लगाई ८ वटा खाली चेक लिएका थिए ।

प्रबन्ध गुप्ताले ६ जनाको नामबाट ९ लाख ९५ हजारको दरले निकालेका थिए । त्यसैगरी उनले एकजनाको नामबाट ९ लाख ९० हजार र अर्को एकजनाको नामबाट ३६ हजार निकालेको पाइएको छ ।

चेक नम्बर ५९००५३६२ बाट मनिषा देवी साह, चेक नम्बर ४९००५३५९ बाट शेख जहुर हक, चेक नम्बर ४९००५३६१ बाट दुर्गा कुमारी सोनी, चेक नम्बर ४९००५३५८ बाट काशी सहनी, चेक नम्बर ४९००५३६३ बाट माधव प्रसाद साह कल्वार र चेक नम्बर ४९००५३६५ बाट गैरी देवीको नाम रकम निकालेका छन् । उनीहरु सबैको नामबाट जम्मा ५९ लाख ७० हजार निकालेको पाइएको छ ।

त्यस्तै प्रबन्ध गुप्ताले चेक नम्बर ४९००५३६४ बाट रामसिंह राय यादवको नाममा ९ लाख ९० हजार र चेक नम्बर ४९००५३६० बाट टैट सहनीको नाममा ३६ हजार निकालेको खुलेको छ ।

बैधनाथ एग्रिकल्चर र अशोका एग्रिकल्चरजस्तै अम्बे कृषि फर्मलाई पनि ६० लाख बढी बैंकबाट ठगिएको पीडित बताउँछन् । तर, अम्बे फर्मको चेकको विवरण भने बैंकले नदिएको बताइएको छ ।

शाखा प्रबन्धक गुप्ता भने ग्राहको करोडौं कुम्ल्याएर सम्पर्कविहीन बनेका छन् । यता, एनआईसी एशिया बैंक प्रधान कार्यालयका मुख्य गुनासो व्यवस्थापन अधिकारी अर्जुन राज खनियासँग यसबारे बुझ्न खोज्दा आफू बोल्न नमिल्ने भन्दै तर्किने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्