काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिका–३२ स्थित जडीबुटीमा अरनिको यातायात प्रालिले निर्माण गरेको बसपार्क नभत्काउन आदेश दिएको छ । न्यायाधीश गोकर्ण डाँगीको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै उक्त बसपार्क नभत्काउन काठमाडौं महानगरपालिकालाई भनेको हो ।

सुनुवाइमा भनिएको छ, ‘निवेदक कम्पनीले बसपार्क सञ्चालनका लागि व्यक्तिको निजी जग्गा भाडामा लिई निर्माण गरेका संरचनाहरुलाई तोडफोड गर्ने तथा भत्काउने कार्य नगर्नु नगराउनु भनी मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५८(२)(ख) तथा उच्च अदालत नियमावली, २०७३ को नियम ४२(१)(क) बमोजिम विपक्षीहरुका नाममा अल्पकालीन अन्तरिम आदेश गरिदिएको छ । आदेशको जानकारी विपक्षीहरुलाई दिनु ।’
यस्तै, आदेश जारी गर्न नपर्ने आधार, कारण र प्रमाण भए सबुद प्रमाणसहित म्याद, सूचना पाएका मितिले बाटाको म्यादबाहेक १५ दिनभित्र आफैं वा कानुन बमोजिमको वारेसमार्फत लिखित जवाफ पेश गर्न समेत अदालतले महानगरलाई भनेको छ ।
दुवै पक्ष राखेर छलफल गरेपश्चात् मात्र अन्तरिम दिने वा नदिने भएकाले १४ असोजमा छलफलको लागि अदालतले पेशी तोकिदिएको छ । यातायात प्रालिले १४ रोपनी जग्गामा १० करोड खर्च गरेर बसपार्क निर्माण गरेपनि महानगरले ‘एक बसपार्क’ नीति लिएको भन्दै सञ्चालन अनुमति दिएको छैन ।














