Logo
Logo

शम्भुनाथका नगरप्रमुख र इन्जिनियर भ्रष्टाचार मुद्दामा दोषी ठहर


2.8k
Shares

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकाका नगरप्रमुख जितेन्द्रप्रसाद गुप्ता भ्रष्टाचारी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीश यमुना भट्टराई, बलभद्र बास्तोला र खुशीप्रसाद थारुको शुक्रबार भएको संयु्क्त इजलासले भ्रष्टाचारसम्बन्धी मुद्दामा नगरप्रमुख गुप्ता र इन्जिनयर रामचन्द्र साहलाई दोषी ठहर गरेको हो ।

विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार गुप्ता र साहलाई ६-६ महिना कैद र ७०-७० हजार रुपैयाँ जरिवाना गर्ने फैसला भएको छ । नगरप्रमुख गुप्ता २०७९ फागुन १७ गतेदेखि निलम्बित छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरप्रमुख गुप्ताविरुद्ध रिसवत लिएको आरोपमा विशेष अदालतमा आरोप पत्र दायर गरेसँगै नगरप्रमुख गुप्ता निलम्बित भएका थिए ।

गुप्ता भ्रष्टाचारी ठहर हुने सप्तरीका दोस्रो नगर प्रमुख हुन् । यसअघि राजविराज नगरपालिकाका नगरप्रमुख भीमराज यादवलाई विशेष अदालतले भ्रष्टाचार मुद्दाका आशिंकरुपमा आरोप ठहर गरेको थियो । नगरप्रमुख गुप्ता र नगरपालिकाका इन्जिनयर रामचन्द्र साहलाई मिलेमतोमा विद्यालयको सभाहल निर्माणको अन्तिम बिल भुक्तानी गर्दा सेवाग्राहीसँग १ लाख ४० हजार रुपैयाँ घुस लिएको आरोप लागेको थियो ।

अख्तियारको इटहरीस्थित कार्यालयवाट खटिएको टोलीले २०७९ माघ ३ गते इन्जिनयर साहलाई एक लाख ४० हजार रुपैयाँ घुस लिइसकेको भन्दै नियन्त्रणमा लिएको थियो । इन्जिनियर साहलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको अख्तियारले नगरप्रमुख गुप्ताको पनि संलग्नता पाएपछि उनीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर भएको थियो ।

प्रतिक्रिया दिनुहोस्