काठमाडौं, ९ माघ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आधारभूत तालिममै प्रहरीलाई सदाचारसम्बन्धी विषयवस्तु समावेश गर्न सुझाव दिएको छ । आयोगले गृह मन्त्तालयलाई हालै चारबुँदे सुझाब दिँदै आयोगले संगठनभित्र अनियमितता नियन्त्रण गर्न यस्तो तालिमको आवश्यकता औँल्याएको हो । कर्तव्यपरायणता र सत्यनिष्ठाका आधारमा समग्र राज्यप्रतिको विश्वास निर्माण गर्ने भएकाले प्रहरी कर्मचारीलाई दिइने आधारभूत तालिममा सदाचारसम्बन्धी विषयवस्तुसमेत समावेश गर्न आयोगले सुझाब दिएको छ ।

सुझावमा भनिएको छ
-सुरक्षाकर्मीको व्यावसायिकता, अनुसन्धान कुशलता र मनोबल बढाउन आवश्यक नीतिगत तथा प्रविधिगत सुधार र क्षमता अभिवृद्धिको व्यवस्था एवं अनुचित राजनीतिक हस्तक्षेपको अन्त्य गरी सरुवा, बढुवाका वस्तुगत मापदण्ड बनाई निष्पक्ष रूपमा लागू गर्ने ।
-सुरक्षा निकायका कल्याण कोषलाई कल्याणकारी कार्यमा नै केन्द्रित हुने गरी काम गर्न र यसमा हुन सक्ने अनियमितता नियन्त्रण गर्न कार्य्विधि परिमार्जनसमेत गरी आवश्यक व्यवस्था मिलाउने ।
-त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा सुन तस्करीलगायतका भ्रष्टाचार र अनियमितताका घटना पूर्णरूपमा नियन्त्रण गरी सुरक्षा प्रबन्धमा समस्या नहोस् भन्नेतर्फ ध्यान दिनु आवश्यक । सुरक्षा चेकजाँचलाई प्रभावकारी बनाउन अत्याधुनिक उपकरण र प्रविधिको प्रयोग तथा सुरक्षाकर्मी र कर्मचारीको नियमित अनुगमनलगायत आवश्यक सुधारको प्रबन्ध मिलाउने ।
– भ्रष्टाचारको रोकथामका लागि भन्सार जाँचमा खटाइएका सुरक्षाकर्मीहरू र घुमुवा प्रहरीहरू नै भ्रष्टाचारजन्य कार्यमा संलग्न देखिने गरेको हुँदा यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्न आन्तरिक नियन्त्रण प्रणाली चुस्त र प्रभावकारी बनाउने












