Logo
Logo

दार्चुलाको गोकुलेश्वरमा सडकमै गरिन्छ पार्किङ


882
Shares

दार्चुला । दाचर््ुलाकोे दोस्रो मुख्य ठूलो बजार तथा शैल्यशिखर नगरपालिकाको सदरमुकाम गोकुलेश्वरमा बसपार्क नहुँदा पार्किङको समस्या जटिल बन्दै गएको छ । बढ्दो शहरीकरणका कारण सवारी साधनको चाप बढदै जान थालेपछि अहिले पार्किङका लागि बसपार्क नहुँदा समस्या भएको हो ।

जिल्लाको प्रमुख र एकमात्र प्रवेशद्धार भएको यस बजारमा दिनहुँ साना ठूला गरी सयौंको संख्यामा सवारी साधन आवतजावत गर्छन् । तर, सवारीसाधन पार्किङका लागि ठाउँ नहुँदा समस्या छ ।

नगरपालिका भएका स्थानहररुमा नगर क्षेत्रलाई केन्द्रित गरी अनिवार्य रुपमा बसपार्क निर्माण गर्नुपर्ने व्यवस्था भए पनि शैल्यशिखर नगरपालिकाले बसपार्क निमार्ण गर्न नसक्दा सवारी साधनहरु सडकमै पार्किङ गर्नुपर्ने बाध्यता छ ।

सवारी साधनहरु सडकमै पार्किङ गर्दा दुर्घटनामा हुने सम्भवना बढेको छ दिनहुँ तराई तथा काठमाण्डौंका लागि छुट्ने र आउने बसहरु र छोटो दूरीमा सञ्चालन हुने जीप, अटोहरु बसपार्क नहुँदा सडक किनारामा पार्किङ गर्नुपर्ने बाध्यता छ ।

बसपार्क नहुँदा बजार चोकमै दैनिक दर्जनौं गाडीको लाम हुन्छ । जसले बजारलाई कुरूप त बनाएको छ नै, सवारी दुर्घटनाको जोखिम पनि उत्तिकै बढाएको छ । साँघुरो सडक छ । बजारका चारैतिर अव्यवस्थित पार्किङ हुन्छ । पैदल हिँड्नेलाई पनि समस्या छ । सडकको दायाँ र बायाँ किनारमा जिप, बस र अटोहरू पार्किङ गरिएका हुन्छन् । मानिसलाई हिँड्नै अप्ठ्यारो भएको छ ।

सडकमा बस पार्किङ गर्दा सवारी आवागमनमा समस्या हुने गरेको छ । गोकुलेश्वरमा स्थानीयले पार्किङको व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन् । सडकमा सवारी साधनले पार्किङ स्थल बनाउँदा यस क्षेत्रका व्यवसायीले मर्कामा परेकाको गुनासो गर्दै आएका छन् ।

व्यवसायीको पसल अगाडि नै सवारी साधन रोकिदिनाले व्यवसायीमा कमी आएको उनीहरुको गुनासो छ । पटक पटक बसपार्क निमार्णका लागि शैल्यशिखर नगरपालिकालाई आग्रह गरेको भएपनि पालिकाले चासो नदेखाएको यहाँका स्थानीयको आरोप छ ।

बसपार्क निमार्णको बिषयमा नगरपालिकाले गम्भिरताका साथ लिई गोकुलेश्वर आसपासकै २, ३ ठाउँमा बसपार्क निमार्णका लागि जग्गा हेरेको र कुन ठाउँ उपयुक्त हुन्छ भन्नेबारेमा अब छिट्टै सरोकारवाला सबैसँग छलफल गरि निमार्ण कार्य अगाडि बढाइने शैल्यशिखर नगरपालिकाका उपप्रमुख शान्ति खडायतको भनाइ छ ।

महाकाली राजमार्गसँग जोडिएको यो क्षेत्रमा बसपार्कको उचित व्यवस्थापनको थालनी तत्काल नगर्ने होे भने यसले ठूलो दुर्घटना निम्त्याउने जोखिम छ ।

गोकुलेश्वरमा सवारीसाधन पार्किङका लागि बसपार्क नहुँदा सवारीसाधन व्यवस्थापनमा निकै समस्या भएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका इन्चार्ज एवं प्रहरी निरीक्षक मानसिंह ऐरीले बताए । ‘बसपार्क नहुँदा हामीलाई सवारीसाधन व्यवस्थापनमा निकै समस्या भएको छ’, उनले भने, ‘सडक किनारमा बस, जीप र अटोहरु रोकेर राखिएको हुन्छ । मानिसलाई हिँड्नै अप्ठ्यारो भएको छ । दुर्घटनाको जोखिम पनि बढेको छ ।’

प्रतिक्रिया दिनुहोस्