
काठमाडौं । मन्त्री र कर्मचारीहरुको सेटिङमा खुला गरिएको सुपारी आयतमा ठूलो परिणामको आर्थिक चलखेल गरिएको छ । तत्कालीन प्रधानमन्त्री देउवा पत्नी आरजु देउवा र केही व्यापारीहरुको मिलेमतोमा सुपारी आयात खुलाउन ठूलो आर्थिक चलखेल भएको हो ।
आर्थिक चलखेलकै कारण उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उच्च अधिकारीहरूले सुपारी, केराउ, छोगडा जस्ता वस्तु आयतको टिप्पणी उठाएर स्वीकृतिका लागि तत्कालीन प्रधानमन्त्री देउवालाई पठाएका थिए ।
विभागीय मन्त्री नभएको बेला सीधै प्रधानमन्त्री निवास र कार्यालयबाटै सुपारीको ‘लाइन’ खुलाउन दबाब आएको थियो ।
स्रोतका अनुसार केपी ओलीको सरकारबाट देउवा सरकार आएपछि परिणात्मक बन्देज लगाएको सुपारी प्रदीप मित्तल र दिनेश राठीलगायतका केही व्यापारीलाई फाइदा पुग्ने गरी आयात अनुमति दिइएको थियो । ‘तत्कालीन समयमा प्रधानमन्त्री कार्यालय र निवासबाट दबाब आएपछि सुपारी आयात खुलाउने प्रस्ताव मन्त्रिपरिषदमा पठाइयो, त्यहाँ रोकिने अवस्था थिएन, पास भएर आयो’, स्रोतले भन्यो । यो प्रपञ्च गत २०७९ मंसिर ४ को निर्वाचनअघि नै भएको थियो ।
त्यतिबेला उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हालिरहेका थिए । तर, सुपारी आयात खुलाउने चाँजोपाँजो भने कांग्रेसकै एक सांसद र प्रधानमन्त्रीकै गृहजिल्ला डडेलधुरा घर भएका विवादस्पद पूर्वप्रशासक रामचन्द्र भट्टले गरेका थिए ।
नेपालकै ठूलो सुर्ती कम्पनी श्रीराम टोबाको कम्पनीका किशोर मालपानी, विजयकुमार मालपानी र उमाशंकर मालपानी दाजुभाइसँग डिल गरेर देउवा पत्नीमार्फत सो चाजोपाँजो मिलाएका हुन् ।
‘सुपारी तस्करीको लाइन खुलाउन कम्तीमा ५० देखि ६० करोड रूपैयाँको डिल भएको थियो’, स्रोतले भन्यो । यसको संयोजन पूर्वमा विराटनगरका व्यवसायी दिनेश राठीले गरेका थिए । मागभन्दा बढी परिणाममा तेस्रो मुलुकबाट सुपारी आयात गरेर ती व्यापारीले भारततिर तस्करी गर्छन् ।
नेपालको भन्सार दर सस्तो भएकाले तस्करहरूले नेपालमा चलखेल गरेर आयात खुलाउने र सुपारी ल्याएर भारततिर लैजाने गरेका छन् । सुपारी मुख्यतयाः इन्डोनेसिया, मलेसिया, थाइल्याण्डलगायतका तेस्रो मुलुकबाट नेपाल आयात हुन्छ । आयात भएको सुपारी भारत तस्करी हुने गरेकाले अघिल्लो ओली सरकारले परिमाणात्मक बन्देज लगाएको थियो ।
व्यापारी दिनेश राठीलगायतका व्यवसायीहरूको सुपारी आयात नै मुख्य धन्दा हो । भारतमा सुपारी आयात बन्देज छ । त्यसैले नेपालका केही व्यापारीले सरकारलाई प्रभावित पारेर आफूलाई फाइदा हुनेगरी आयात खुलाउने र तेस्रो मुलुकबाट आयात गरेर अवैध बाटो हुँदै भारत लैजान्छन् ।
(विस्तृत समाचार आइतबार बिहान प्रकाशित गरिने छ ।)














