रौतहट । रौतहटको चन्द्रनिगाहपुर नगरपालकिास्थित नेपाल बिद्युत प्राधिकरणको वितरण केन्द्रका कर्मचारीलाई हातपात गर्न खोज्नेलाई कारबाहीको माग गर्दै विद्युतका कर्मचारीले इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरमा ज्ञापन पत्र बुझाएका छन् ।
बिहीबार बृन्दावन नगरपालिका वाड नं. २ का वडा अध्यक्ष सिकेन्द्र पटेलसहितको टोलीले प्राधिकरणको चन्द्रनिगाहपुर कार्यालयमा कर्मचारीमाथि हातपातको प्रयास गरेको भन्दै शुक्रबार कर्मचारीले सुरक्षाको माग र दोषीलाई कारकाहीको माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।

गत बुधबार चुहावट नियन्त्रण टोलीले बृन्दावन न.पा. वडा नं. ०३ बस्ने मेयर प्रत्यासी रामप्रसाद पटेलको घरमा मिटर छड्के गर्दा निजको घरमा शंकर राउतको नाममा ग्राहक नं ००९ १५०७३ जडान गरिएको मिटर बेपता पारी मिटरको सर्भिस केवलबाट डाइरेक्ट कनेक्सन गरी मोटर, पंखा बत्तीलगायत अन्य विद्युतीय उपकरण चलाइरहेको फेला पारेपछि कार्यालयमा खोलेर ल्याइएको थियो ।
विद्युुत कर्मचारीले सो समान बरामद गरेपछि सोही नगरपालिकाका पटेल र वृन्दावन न.पा. वडा नं. ०२ को वडा अध्यक्ष सिकिन्दर पटेल कार्यालयमा आई गाली गलौज गर्नका साथै अभद्र व्यवहार गरेको प्राधिकरण चन्द्रनिगाहपुर शाखाका प्रमुख ई. धिरेन्द्र यादवले बताए ।
गत बिहीबार सार्वजनिक विदाको दिनमा रामप्रसाद पटेल र वृन्दावन न.पा. वडा नं. ०२ को वडा अध्यक्ष सिकिन्दर पटेललगायत अन्य ४०/४५ जनाको समूहले कार्यालयमा आई कर्मचारीहरुलाई गालीगलौज गरी हातपात गर्न खोजेको विज्ञप्तीमा जनाइएको छ ।
उनीहरुले विद्युत चुहावटमा कारबाही भयो भने कर्मचारीहरुको हात भाँचिदिने धम्की समेत बताउँदै उनीहरुलाई पक्राउ गरी आवश्यक कारबाही गर्न माग गरिएको छ ।
यता प्राधिकरण सम्बध विभिन्न कर्मचारी संगठनहरुले पनि बिज्ञप्ती जारी गर्दै दोषिलाई कारबाही गर्न माग गरेका छन् । कर्मचारी केन्द्रीय परिषदका केन्द्रीय सदस्य प्रमेश्वर राय यादब, नेपाल बिद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन इकाई कमिटीका अध्यक्ष राजु लुइँटेल, नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ इकाई कमिटीका अध्यक्ष उमेश पटेलले संयुक्त विज्ञप्ती जारी गर्दै दोषीलाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।














