Logo
Logo

राष्ट्रियसभा निर्वाचन : प्रदेश २ मा नेकपा-राजपा गठबन्धन, गण्डकी श्रेष्ठ र न्यौपाने विजयी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ९ माघ । प्रदेश दुईको राष्टियसभा निर्वाचनमा नेकपा राजपा गठबन्धनबाट अल्पसंख्यक कोटामा उम्मेदवारी दिएका शेखरसिंह विजयी भएका छन् ।
नेपाली कांग्रेस र समाजवादी पार्टीको गठबन्धनबाट उम्मेदवारी दिएका भोला पजियारलाई पराजित गर्दै उनी विजयी भएका हुन् । सिंहले ५ हजार ५ सय २ मतभार ल्याएका छन् भने पजियारले ४ हजार ५ सय १२ मतभार ल्याए ।
अल्पसंख्यक कोटाको परिणाम आएसँगै राष्टियसभाको प्रदेश दुईको निर्वाचनमा चारवटै सीटमा नेकपा राजपा गठबन्धनले विजयी हासिल गरेको छ ।
नेकपा राजपा गठबन्धनबाट महिलातर्फ तुलसा दहाल, खुल्लातर्फ मृगेन्द्र सिंह र दलिततर्फ राधेश्याम पासवान विजयी भइसकेका छन् ।

000
गण्डकी प्रदेशमा श्रेष्ठ र न्यौपाने विजयी
राष्ट्रियसभाको अन्य समूह र महिला सदस्यमा क्रमशः गण्डकी प्रदेशबाट नेकपाका नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने निर्वाचित भएका छन् ।
नेकपा प्रवक्ता रहेका श्रेष्ठले तीन हजार ४६२ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सूर्यप्रसाद रेग्मीले दुई हजार २४४ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी न्यौपाने तीन हजार ३६६ मत प्राप्त गरी विजयी हुुनुभएको छ भने उहाँको निकटतम प्रतिद्वन्द्वी काँग्रेसका विमला गौचनले दुई हजार ३४० मत प्राप्त गरे । अन्य समूहतर्फ राष्ट्रिय जनमोर्चाका शंकर बरालले १९८ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयका प्रमुख महेन्द्र सुवेदीले जानकारी दिए ।
बिहीबार बिहान १० बजेदेखी साँझ ४ बजेसम्म निर्वाचन कार्यालय परिसरमा भएको मतदानमा कूल मतदाता २३० मध्ये २२८ जनाले मतदान गरेका थिए ।

000

९९.१९ प्रतिशत मतदान
राष्ट्रियसभा सदस्यको निर्वाचनमा स्थानीय तहतर्फ ९९.१९ प्रतिशत मतदान भएको छ ।
निर्वाचन आयोगका अनुसार, प्रदेशसभा सदस्यतर्फ भने ९९.१५ प्रतिशत मत खसेको छ । राष्ट्रियसभा सदस्यको १८ पदका लागि आज बिहान १०ः०० देखि अपरान्ह् ४ः०० बजेसम्म मतदान भएको थियो । मतदान शान्तिपूर्ण र उत्साहजनक रुपमा भएको जनाउँदै आयोगले सम्पूर्ण मतदाता, उम्मेदवार, राजनीतिकर्मी, निर्वाचनमा संलग्न कर्मचारी, सुरक्षाकर्मी, समाजसेवी, सञ्चारकर्मीलगायत आम नागरिकप्रति आभार प्रकट गरेको छ ।
निर्वाचनका लागि मुलुकका सातै प्रदेशका उच्च अदालत रहेका जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको थियो । उक्त निर्वाचनको मतगणना कतिपय स्थानमा प्रारम्भ भई परिणाम आउने कार्यसमेत शुरु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्