
काठमाडौं । चीनमा जारी १९औँ एसियाली खेलकुदमा नेपालले माल्दिभ्सलाई १३८ रनले हराएको छ । समूहको दोस्रो खेलमा २१३ रनको लक्ष्य पछ्याएको मालदिभ्स ७४ रनमा समेटियो ।
माल्दिभ्सलाई सस्तोमा समेट्न नेपालका अविनाश बोहरा एक्लैले ६ विकेट लिए । सोमपाल कामी, गुल्सन झा, सन्दीप लामिछाने र कुशल भुर्तेलले एक–एक विकेट हात पारे ।
अविनाशले ३.४ ओभरमा ११ रन मात्र खर्चिएका थिए । माल्दिभ्सका तीन ब्याट्सम्यानले दोहोरो अंकमा रन जोडे । मध्यक्रमका मुआभियाथ गानीले ३६ रन बनाए । त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १२ रन जोड्यो ।
नेपालका लागि कप्तान रोहित पौडेलले ५२ , गुल्सन झाले ३५, कुशल मल्लले अविजित ४७ र कुशल भुर्तेलले ३५ रन बनाए । ६७ रनमा ४ विकेट गुमाएको अवस्थामा नेपाललाई रोहित, गुल्सन र कुशल मल्लले सम्हालेका थिए । मल्लले २० बलमा २ छक्का र ३ चौका प्रहार गरे ।
रोहितले २७ बलमा ३ छक्का र ३ चौका हिर्काए । गुल्सनले २१ बलमा तीन छक्का र १ चौका प्रहार गरे । पहिलो बलमा छक्का प्रहार गरेका दीपेन्द्रसिंह ऐरी दोस्रो बलमा आउट भए । माल्दिभ्समाथिको जितसँगै नेपाल पुरुष क्रिकेटको क्वाटरफाइनल पुगेको छ । नेपालले पहिलो खेलमा मंगोलियामाथि विश्व कीर्तिमान जित हात पारेको थियो ।