
काठमाडौं । सुन तस्करी प्रकरणमा छानविन आयोग गर्ने सहमति भएपछि एमालेले सदन अवरोध नगर्ने भएको छ ।
आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको छलफलमा आयोगको कार्यदेशबारे सहमति जुटेपछि एमाले सचेतक महेश बर्तौलाले आज बस्ने प्रतिनिधिसभा बैठकमा अवरोध गर्ने बताएका हुन् ।
नेता बर्तौलाका अनुसार उच्च अदालतका पूर्व न्यायाधीशको नेतृत्वमा तीन सदस्यीय आयोग बनाउने र उक्त आयोगले तीन महिनामा तस्करी नियन्त्रणमा आवश्यक सुझाव दिने सहमति भएको छ ।
आजै दिउँसो १ बजे प्रतिनिधिसभा बैठक अघि सरकारले आयोग गठनको घोषणा गर्ने भएपछि एमालेले सदन अवरोध गर्न जरुरी नभएको जनाएको छ । ‘बैठकअघि आयोग घोषणा हुन्छ, सहमतिअनुसार आयोग घोषणा भएपछि सदन अवरोध गर्न जरुरी हुँदैन’, बर्तौलाले भने ।
यसअघि एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन आयोग नबनेसम्म सदन चल्न नदिने बताएको थियो । तर, आज बिहान सत्ता पक्ष र एमालेबीचको सहमतिपछि सदन चल्ने भएको हो ।














