Logo
Logo

ओली र खनालबीच बालुवाटारमा चार घन्टा लामो छलफल


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १० माघ ।
प्रधानमन्त्री केपी ओली तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालबीच बिहीबार लामो संवाद भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारबाट अकस्मात बोलाइएपछि खनाल बिहीबार बिहान १० बजेतिरै त्यहाँ पुगेका थिए । उनीहरूबीच पौने २ बजेसम्म छलफल भएको थियो । नेता खनालले सरकारको आलोचना गर्दै आएका छन् ।

‘हामीबीच करिब पौने चार घन्टा दुस्ख–सुखका धेरै अनौपचारिक कुराकानी भयो,’ ओलीसँगको छलफलबारे खनालले भनो छन्, ‘जीवन, जगत्, वर्तमान र भविष्यका चुनौती र सम्भावनाका बारेमा छलफल र्गयौँ ।’

सभामुख चयन प्रकरणमा पूर्वएमाले समूहका वरिष्ठ नेताद्वय खनाल, माधवकुमार नेपाल र वामदेव गौतमले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अघि सारेका नेता अग्नि सापकोटालाई साथ दिएपछि अध्यक्ष ओलीले असहज महसुस गरेका थिए । सचिवालयमै अल्पमतमा पर्ने सम्भावना देखिएपछि ओली सापकोटाको नाममा निर्णयका लागि तयार भएको चर्चा नसेलाएकै अवस्थामा खनालसँगको लामो संवादलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

यद्यपि, उनले सभामुख चयन प्रकरणलगायत विषयमा कुनै पनि चर्चा नभएको बताए पनि पार्टी सञ्चालन र सरकारको कामलाई अझ प्रभावकारी बनाउने विषयमा भने छलफल भएको स्वीकार गरे । ‘पार्टी र सरकारलाई राम्ररी सञ्चालन गर्नुपर्छ नत्र भोलिका दिनमा अप्ठ्यारो स्थिति आउन सक्छ भन्ने कुराकानी भयो,’ उनले भने ।

ओली–खनालबीच लामो समयदेखि विश्वासिलो सम्बन्ध छैन । पार्टी एकतासँगै आफूलाई वरिष्ठ नेताको वरीयतामा तल पारिएको भन्दै खनाल ओलीसँग असन्तुष्ट थिए । तर, गत ३ भदौको सचिवालय बैठकले उनकै मागअनुसार वरीयता सच्याइएपछि भने ढिलै भए पनि पार्टीले न्यायोचित निर्णय गरेको खनालले प्रतिक्रिया दिएका थिए ।

ओलीले पार्टी सञ्चालनबारे अर्का अध्यक्ष प्रचण्डसँग नियमितजस्तै संवाद गर्दै आएका छन् । पार्टी सञ्चालनलगायत विषयमा प्रचण्डपछि ओलीले खनाललाई भन्दा नेपालसँगको संवादलाई प्राथमिकता दिने गरेका छन् । तर, गत ५ भदौमा ओली–नेपाल सम्बन्ध तिक्ततामा परिणत भएपछि उनीहरूबीचको सम्बन्ध व्यक्तिगत रूपमा अझै सुमधुर भइसकेको छैन । यद्यपि, ओली–नेपालले गत २९ कात्तिकमा करिब ४ घन्टा लामो छलफल गरेर तिक्तता सम्बन्धको समीक्षा गर्दै सुमधुर बनाउने प्रयास गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्