काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी रूपान्तरण गर्न तीन प्रस्ताव राखेका छन् । आइतबार ‘कांग्रेस रूपान्तरण अभियान बागमती प्रदेश’ले काठमाडौांम आयोजना गरेको कार्यक्रममा सांसदसमेत रहेका थापाले सदस्यता वितरण, उम्मेदवार छनौट र भ्रातृ तथा शुभेच्छुक संघसंस्थाबारे बहसका लागि प्रस्ताव ल्याएका हुन् ।
उनले अनलाइनबाटै कांग्रेसको सदस्यता वितरण गर्न सुरु भएको भन्दै साधारण सदस्यता लिएको एक वर्षपछि उसले क्रियाशील पाउने बताउँदै भने, ‘तर, अब कसैलाई क्रियाशील दिन्न भन्न मिल्दैन ।’ ०८२ मा कांग्रेसको १५औं महाधिवेशन हुने भएकाले त्यसको एक वर्षअघि ०८१ सालमै क्रियाशील सदस्यताको टुंगो लगाइसक्नुपर्ने उनको भनाइ छ ।

महामन्त्री थापाले भने, ‘क्रियाशील सदस्य ०७८ को १४औं महाधिवेशनमा ८ लाख थियो । अब बढेर १५ लाख हुन पनि सक्छ भने घटाएर ५ लाख पनि हुन सक्छ ।’ उनले पार्टीको विधान अनुसार संसदीय बोर्ड नै खारेज गरिनुपर्ने बताए । कांग्रेस विधानअनुसार चार तहमा संसदीय बोर्ड छ, जसले चुनावमा उम्मेदवार छनोट गने कांग्रेसको प्रावधान छ ।
उनले भने, ‘संसदीय बोर्ड खारेज गरौँ, चाहिन्न यो । जुन तहको चुनावको उम्मेदवार चाहिन्छ पार्टीको सम्बन्धित तहले नै उम्मेदवार छान्छ । केन्द्रबाट उम्मेदवार पठाउन बन्द गरौँ ।’ भ्रातृ तथा शुभेच्छुक संघसंस्थाबारे पनि पार्टीले गम्भीर ढंगबाट सोच्ने बेला आएको उनको धारणा छ ।
महामन्त्री थापाले भने, ‘हामीले नेविसंघ ठूलो बनाऔं, महिला संघ सानो आकारको बनाऔं । ठूलो र सानो जस्तो बनाएपनि दिनकै डेलिकेशन आइरहेका छन्, समस्या देखिएको छ ।’ उनले शुभेच्छुक संघसंस्थामा भने नियमित अधिवेशन हुने गरेकाले पार्टीलाई हाइसञ्चो भएको बताए ।
महामन्त्री थापाले भने, ‘भ्रातृ संस्था कि सभापतिबाट मनोनीत गर्ने गरौं कि स्वतन्त्र बनाऔं । उहिलेदेखि अहिलेसम्म पनि भ्रातृ संस्थामा भंग हुने, गठन हुनेजस्ता समस्या देखिइरहेका छन् ।’ उनले शिक्षक, कर्मचारी, प्राध्यापकलगायत पार्टी सदस्य बन्न नपाउने कानुन रहेको बताउँदै भने, ‘शिक्षक पार्टीमा लागेको विषयमा अख्तियार, निर्वाचन आयोग लगायतबाट पार्टी कार्यालयमा पत्र आएका छन् । शिक्षक राजनीतिमा आउने भए पेशा छाडेर आउनुपर्छ ।’
उनले प्रचण्ड नेतृत्व सरकारबाट पार्टीका मन्त्रीहरु फिर्ता बोलाउन समेत प्रस्ताव अघि सारे । महामन्त्री थापाले दुई–अढाई वर्ष समाजवादी मोर्चालाई सरकार चलाउन दिने र बाँकी दुई–अढाई वर्ष कांग्रेसले एक्लै सरकार चलाउने पार्टीमा प्रस्ताव राखेका हुन् ।
गठबन्धनको राजनीतिबारे नयाँ ढंगले छलफल गर्नुपर्ने भन्दै उनले भने, ‘कांग्रेसको सबै मन्त्री फिर्ता बोलाऊँ । दुई अढाई वर्ष मोर्चालाई चलाउन दिऊ ।’














