
काठमाडौं । सर्लाहीको सदरमुकाम मलंगवामा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा सद्भाव र्याली निकालिने भएको छ । आइतबार बसेको सर्वदलीय सर्वपक्षीय समन्वय सहजीकरण बैठकले थानीय प्रशासनले यहि असोज १८ गते गृहमन्त्री श्रेष्ठको उपस्थितिमा सद्भाव र्याली निकाल्ने निर्णय गरेको हो ।
यसअघि असोज ८ गते दिउँसोको कर्फ्यु हटाइएको स्थानीय प्रशासनले रातिको समयमा लगाउँदै आएको कर्फ्यु पनि आइतबार रातिदेखि पूर्णरूपमा हटाइएको छ । बैठकले मलंगवाको कर्फ्यु आदेशलाई आइतबार रातिदेखि पूर्णरूपमा निष्क्रिय पार्ने निर्णय गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
सामाजिक सद्भाव विथोलिने गतिविधि बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले साविक मलंगवा नगरपालिका क्षेत्रमा यहि असोज ८ गतेदेखि राति ८ बजेदेखि बिहान ४ बजेसम्म कर्फ्यु आदेश जारी गरेको थियो ।
गणेशको मूर्ति विसर्जन गर्ने क्रममा भएको विवादले उग्र रुप लिएपछि असोज ४ गते राति १० बजेदेखि मलंगवामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको थियो । असोज ८ गतेदेखि दिउँसोको कर्फ्यु हटाइए पनि रातको कर्फ्यु भने कायमै थियो ।















